राहतका लागि कुहिएको दाल दिने मेयर पक्राउ


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

राहत लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । बाराका एसपी कृष्ण पंगेनीको अनुसार राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको हो ।

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा चैत २९ शिलबन्दी गरेको थियाे । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् । उनी राधेचन्द्र यादवका छोरा हुन् ।

प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

कलैया उपमहानगरपालका वडा न. १३ का वर्डा अध्यक्ष राजन केशरी, वडा न. ११ का सर्व नारायण चाैधरी, वडा न. २३ का महेश साहलाई साेमबार पक्राउ गरेकाे थियाे भने वडा न. १ का हरओम साेनार र वडा न.७ का वडा अध्यक्ष सर्फुलाह अन्सारिलाई ७ गते नै पक्राउ गरिएकाे थियाे ।

त्यस्तै यसअघि कलैया-२० का वडा सचिव खेदु मियाँसँगै कलैया-७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो । गरिब, असहाय र श्रमिक वर्गलाई लकडाउनमा राहतको नाममा कुहिएको दाल बाँडेको आरोपमा अनुसन्धान गर्न सबैलाई हिरासतमा राखिएको प्रहरीले जनाएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com