सत्ता–शक्ति र आर्थिक चलखेलमा पार्टीहरू फुटाउने षड्यन्त्र : समाजवादी पार्टी


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

अन्य मुलुकहरुसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड–१९) बाट आक्रान्त भई नेपाली जनता लकडाउनको पीडा भोगिरहेको अवस्थामा सरकारले अनावश्यक अध्यादेशहरू ल्याएकाे भन्दै समाजवादी पार्टीले पनि विराेध गरेकाे छ ।

‘राजनीतिक दल सम्बन्धी (दोश्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरी राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको पार्टीकाे ठहर छ ।

अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ । यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ । उक्त अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् ।’

साथै, कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन पार्टीले अनुरोध गरेकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com