नेपालमा ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

बुधबारसम्म देशभरी पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन् ।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश नम्बर २ मा ५ हजार २ सय ९८, बागमती प्रदेशमा ८ हजार २ सय १७ वटा आरडिटी परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यस्तै गण्डकी प्रदेशमा ५ हजार ३ सय ४३, प्रदेश नम्बर ५ मा ३ हजार ६ सय ७१, कर्णाली प्रदेशमा ५ हजार २ सय ६९ र सुदूरपश्चिममा १२ हजार ९ सय ८६ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा १२ हजार ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर ८३ गरी ८७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । बुधबार नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको छ ।

पत्रकार सम्मेलनमा बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिइयो । नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए । सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com