एकै गाउँका ७ जनाको रहस्यमय मृत्यु, कोराना परीक्षण गरिँदै


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

महोत्तरीको एक बस्तीमा सातदिन यता लगातार ७ जनाको मृत्यु भएको छ । जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ को मेघनाथ गोरहन्ना बस्तीमा एक हप्ताभित्र ७ जनाको मृत्यु भएको हो । केहि दिनदेखि लगातार रुपमा सर्वसाधारणहरुको रहस्यमयी तरिकाले मृत्यु हुन थालेपछि उक्त बस्ती र वरिपरि त्रास फैलिएको छ । एक साताभित्रै सो टोलमा ७ जनाको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए ।

बुधबार राती स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षीय सिताई महराको मृत्यु भएको मेयर साहले जानकारी दिए । त्यसअघि मंगलबारदेखि बुधबारसम्म ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको थियो । सुरुमा ५५ वर्षीय महेन्द्र चौधरीको समेत मृत्यु भएको साहले बताए ।

उनीहरुको मृत्यू विषाक्त मदिरा सेवनको कारणले भएको हुनसक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बुधबारसम्म मृत्यु भएका ५ जनाको शव दाहसंकार गरिसकिएको छ । बिहीबार राति मृत्यु भएका ३२ वर्षीय सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले जानकारी दिए । टोलमा लगातार मृत्यु हुन थालेपछि स्थानीवासी अहिले निकै त्रसित छन् । बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन गएपनि उनको दाहसंकार भइसकेको थियो ।

पोस्टमार्टमसँगै कोरोना परीक्षण हुने
मृत्युको कारण खुल्न नसकेपछि स्थानीय प्रशासनले मृतकको पोष्टमार्टमसँगै कोरोना संक्रमणको परीक्षण समेत गर्ने भएको छ । के कारणले उनीहरुको मृत्यु भएको यस विषयमा पत्ता लगाउन एकजनाको शवलाई पोस्टमार्टमसँगै कोरोना परीक्षण गर्न लागिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनले भने– ‘रक्सीले मृत्यु भएको आशंका गरिएपनि ३–४ दिनदेखि रक्सी नखाएका व्यक्तिको पनि मृत्यु भएकोले पोष्टमार्टमसँगै कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’ उनले भने– ‘एकजनाको शव पोस्टमार्टमको लागि ल्याएका छौं । पोस्टमार्टमसँगै कोरोना परीक्षण पनि हुन्छ । त्यसको स्वाब लिन चिकित्सकको टोली पनि आएको छ ।’

किरण कुमार कर्ण

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com