ओडारको क्वारेन्टीनमा !


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए ।

घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसेका छन् । अहिले उनीहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन् ।

गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए । पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ । वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए ।

अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जनाकारी दिए ।

‘खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?’ टार्जनले भने, ‘हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।’ चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ ।रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com