नेपाल : एकैदिन १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबार मन्त्रालयको कोरोना अपडेट कार्यक्रममार्फत प्रवक्ता बिकास देवकोटाले पर्सा जिल्लाको ३६ वर्षीय एक पुरुष र नेपालगञ्जका ९ जनामा कोरोना पुष्टि भएको जानकारी गराउनुभएको हो ।

लगत्तै थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको वक्तब्यमार्फत जनाइएको थियो । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको हो ।

नेपालगञ्जका १६,२१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमध्ये  पाँच जना पुरुष र अन्य चार जना महिला रहेका थिए ।

योसहित संक्रमितको संख्या ७५ जना पुगेको  छ ।

आज मात्रै कोरोना पुष्टि भएका  संक्रमितहरुलाई नेपालगञ्जको कारोना अस्पताल ल्याइदै गरेको प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ ।

यसैबीच पीसीआर विधिबाट गरिएको परीक्षणको संख्या हालसम्म १३ हजार ४ सय १४ पुगेको छ । त्यस्तै आरडीटी विधिबाट गरिएको परीक्षण संख्या ४९ हजार ६ सय ८८ पुगेकोछ । गत २४ घण्टामा १ हजार ४ सय ७९ परीक्षणहरु भएका छन् ।

प्रदेश नम्बर एकमा ५ हजार ४ सय ९९, प्रदेश दुईमा ५ हजार ७ सय ९, बागमती प्रदेशमा ८ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूर पश्चिममा १४ हजार ७२ गरी जम्मा ४९ हजार ६ सय ८८ वटा आरडीटी परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या २१ हजार ९ सय ५१ जना पुगेको छ । प्रदेश १ मा २ हजार ६ सय १८, प्रदेश २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४६ जना, गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश ५ मा १० हजार ६ सय ६७ जना, कर्णाली प्रदेशमा ३ हजार ७८ जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना रहेका छन् ।

आइसोलेशनमा रहेका विरामीहरुको संख्या जम्मा ७७ जना रहेका छन् । काठमाडौं उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर ७३ जना रहेका छन । त्यस्तै गत २४ घण्टामा स्वास्थ्य मन्त्रालयको कल सेन्टरमा १ हजार ९ सय १९ वटा कल आएको प्रवक्ता देवकोटाले जानकारी गराउनुभएको छ ।

(यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com