कर्णाली प्रदेश ७ दिन सिल गर्न‍े निर्णय


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन समितिको बैठक । सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने बताए ।

उनका अनुसार प्रदेशका विभिन्‍न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ । बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको उनले बताए । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने उनको भनाइ छ ।

स्थानीयतह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालीकोटका २ हजार ६ सय ७४, जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com