अपहरण प्रकरणमा नेकपाकै सांसदले मागे सरकारसँग जवाफ


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संसदको अपहरण प्रकरणबारे सरकारले संसदमा यथार्थ जानकारी दिनुपर्ने बताएका छन् । संसदको छैठौ अधिवेशनमा दलको तर्फबाट मन्तव्य राख्दै उनले सांसद अपहरणको घटना के भएको हो ? भन्दै सरकाले यसवारे जानकारी दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘भएको के हो ? यथार्थ कुरा आउछ भन्ने हामी विश्वास राख्छौं ।’ उनले आफ्नो दल कुनैपनि प्रकारको अपराधको पक्षमा नभएको भन्दै जवाफदेहीता र पारदर्शिताका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताए । उनले नेकपा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको दल भएको भन्दै संविधान कार्यन्वयनका क्रममा पनि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

उपनेता नेम्वाङले मन्तव्यका क्रममा शान्ति प्रकृयाका केही काम बाँकी रहेपनि आवश्यक कानुन निर्माण गरेर यसै अधिवेशनबाट उक्त काम पूरा भएको घोषणा गर्न सकिने बताए ।

उनले कोरोनाविरुद्ध लड्न सवै दल एक ठाउमा उभिने विश्वास व्यक्त गर्दै कोरोनाले धेरै क्षति पुर्याएको र उक्त क्षतिलाई परिपूर्ति गर्न सवै मिलेर आधार तयार गर्नुपर्ने साझा दायित्व भएको बताए । कोरोनाविरुद्ध लड्न लकडाउन बाध्यता र आवश्यकता भएको भन्दै उनले समयमा लकडाउनलाई प्रभावकारी सदुपयोग गरेकाले ठुलो क्षति हुनबाट नेपाल अहिलेसम्म जोगिएको बताए ।

सिंगो विश्व कोरोनाको विरुद्धमा लडिरहेको र ठुला शक्ति समेत आक्रान्त भएको बेलामा नेपालले हासिल गरेको उपलब्धि सबै एक ढिक्का हुनुको परिणाम भएको भन्दै उनले दलको तर्फबाट सरकार लगायत कोरोनाविरुद्ध काम गर्ने सवैलाई धन्यवाद दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com