जोखिमका आधारमा क्षेत्र निर्धारण गरी लकडाउनको स्वरूप परिवर्तन गर्ने उच्चस्तरीय समितिको निर्णय


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी समितिले लकडाउनका कारण नेपालमै रहेका जापान र हङकङका नागरिकहरूलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ । विज्ञहरूले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाब दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरूको सवालमा सम्बन्धित स्थानीय तहहरूमा क्वारेन्टाइनको उचित व्यवस्थापन गरी ल्याउनुपर्ने सुझाब पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए । चिकित्सा क्षेत्रका विज्ञहरूले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग पनि सल्लाह गर्न सुझाब दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com