सेनाका पृतनापतिलाई कोरोना पुष्टि, ब्यारेक नै सिल


प्रकाशित मिति : जेष्ठ ४, २०७७ आईतबार

महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो ।

पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उनी उपचारका लागि हिजै काठमाडौं पुगेका छन् । उनको एपीएफ कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो । सो ब्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, बिद्यालय गण लगायत पृतना लगाएर दुई हजारको संख्यामा सेना छन् ।

त्यहाँ सेनाहरुमा संक्रमण बढ्न नदिनका लागि सेनाहरुलाई आवत जावतमा रोक लगाइनुका साथै सामाजिक दुरी कायम राख्नका लागि भनिएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीका अनुसार, उनीहरु दुवैजनालाई उपचारका लागि काठमाडौँ पठाइसकिएको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘दुवै जना प्रदेश दुईको विभिन्न स्थानमा गएर स्वाब संकलन गर्दै आइरहेका थिए ।’ पृतनापति र चिकित्सक जनकपुरधाम, वीरजञ्ज लगायतको स्थानमा स्वाब संकलनका लागि पुगेको खत्रीले बताए ।

अहिले कन्टाक्ट ट्रेसिंगको काम भइरहेको छ । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार सो पृृतनाभित्र अस्पताल, विद्यालय लगायतका संरचनाको निर्माण कार्य चलिरहेको थियो । सेनाको पृतनापतिमै कोरोनाको संक्रमणपछि ब्यारेक भित्र रहेका सेनामा त्रासको स्थिति छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com