अझै झस्किन्छन् रुकुम घटनाका घाइते


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उहाँ झस्किरहनुभएको छ ।
भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते हुनुभएको थियो । उहाँसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल हुनुभयो तर मरणासन्न हुनेगरी पिटिनुभयो । सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो ।

त्यहाँ उहाँलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घाउ पूरा निको नभए पनि उहाँ त्रासकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घटना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।

“सुतेका बेलासमेत मलाई नमार्नुस् भन्छ,” मदनकी आमा लक्ष्मी शाहीले बताउनुभयो । सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उहाँले बताउनुभयो ।

घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । “थरिथरिका मान्छेलाई कति बयान दिनु ?” लक्ष्मीले भन्नुभयो, “अहिले पनि छोरो डराइरहेको छ ।”
त्यही बयानकै कारण उनीहरूलाई फेरि आफूमाथि हमला होला भन्ने डर पनि छ । घाइते सरोज भडेलले भन्नुभयो, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा
कसले गर्छ ?’
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले घाइतेको जिल्लामै सामान्य उपचार गराउन सघाउनुभएको छ ।  उहाँले हाल घाइतेको जिल्लाबाहिर लगेर उपचार गर्ने पहल भइरहेको जानकारी दिनुभयो ।
जिल्ला अस्पतालका डा. अमिन शाहले घाइतेहरूको टाउकोको स्क्यान गर्ने र मनोपरामर्शको जरुरी रहेको र घाइतेहरूमा घटनापछि मानसिक समस्या देखिएको बताउनुभयो । यस्तो बेला झोक्रिने, एक्लै बर्बराउने, डराउने लगायतका समस्या देखिन्छन् /गोरखापत्र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com