पर्यटन मन्त्री सहभागी ‘जुम मिटिङ’मा पोर्न भिडियो खुलेपछि…
प्रकाशित मिति : असार ८, २०७७ सोमबार
नेपाल पर्यटन बोर्डले कोरोनापछिको पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न सोमबार ‘जुम मिटिङ’ आयोजना गरेको थियो । तर, दिउँसो १ बजेका लागि बोलाइएको भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । मन्त्री भट्टराई बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरुका आवाज तथा तस्विर देखिन थालेपछि सहभागीहरु अचम्मित हुँदै बैठक ‘लिभ’ गरेका थिए।
अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। कसैले ह्याक गरेर यस्तो गतिविधि गरेको हुनसक्ने बताउँदै यसबारेमा छानबिन भइरहेको स्रोतले बताएको छ ।