उद्धारमा खटिनु भएका मदन राईको मृत्यु


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

शंखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा फसेकाहरुको उद्धारमा खटिएको अवस्थामा २५ वर्षीय मदन राईको मृत्यु भएको छ ।
बेसिन्दामा पहिरोले ९ घर बगाएको स्थानमा फसेका स्थानीयलाई उद्धार गर्ने क्रममा बेहोस हुनु भएका राईको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयको सुचना समन्वय शाखाका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभएको छ ।

आइतबार बिहान २ बजे झरेको पहिरोमा फस्नु भएकामध्ये ७९ वर्षीय गोवा सिंह राई, निजकी श्रीमती ६० वर्षीया फूलमाया राई, छोरी १४ वर्षीया भिमसरी राई र ५५ वर्षीय भिमबहादुर राईसहित पाँचजनाको उद्धार गरिएको थियो । उहाँहरुमध्ये गोवा सिंह र भीबहादुरको घर पहिरोले पूरै बगाएको हो । पहिरोले घर बगाए पनि अर्का स्थानीय जुद्धबहादुर राई गोठमा गएको कारण जीवित रहनु भएको छ ।

पहिरोमा परेर गोवासिंहको बाया हात र बायाँ टाउकोमा ढुंगाले गहिरो चोट लागेकोले अवस्था गम्भीर रहेको प्रदेश प्रहरीले जनाएको छ । फूलमाया र भिमसरी र भिमबहादुर सामान्य घाइते हुनुहुन्छ ।यसैगरी वेपत्ता हुनेहरुमा राममान राई, उहाँकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई र छोरीहरु २१ वर्षीया उन्जीला राई र ११ वर्षीया नम्रता राई हालसम्म वेपत्ता रहनु भएको छ । प्रदेश प्रहरीका अनुसार २१ वर्षीया एन्जीला राई गर्भवती हुनुहुन्थ्यो ।

स्थानीय जुद्धबहादुर राई गोठमा गएको बेला आएको पहिरोले निजको श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृति राई वेपत्ता रहनु भएको छ । अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) उहाँकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई वेपत्ता हुनु भएको छ । ७० वर्षीया नजमाया राई समेत वेपत्ता हुनुहुन्छ ।

यसैगरी ८४ वर्षीय हर्कराज र उहाँकी श्रीमती ८२ की आइतमाया राई वेपत्ता हुनुहुन्छ भने सन्दीप राई र सुभधन राई अहिलेसम्म सम्पर्कमा नभएको प्रहरीले बताएको छ । वेपत्ता भएकाहरुको सबैको घर पहिरोले पूरै बगाएको छ । घटनास्थलमा ताम्कु र सिसुवाटार प्रहरी चौकीको टोलि ११ बजे पुगेर उद्धारको काममा खटिएको छ । यसैगरी सिलिचोङका स्वास्थ्य प्रमुख दिपेन्द्र राईसहित दुईजनाको टोलि समेत घटनास्थलमा पुगिसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com