जो सबेरै विदेश जाने तयारीमा थिए तर, उठ्नै नपाई अस्ताए


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

तनहुँको व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान काठमाडौं जाने साइत थियो । तर उठ्नै नपाई अस्ताए उनी । आफन्तसँग भेटघाट गरी बिदा मागेर सुतेका उनी सोमबार पहिरोमा परिवारका अन्य तीन जनासँगै पुरिए ।

उनी ४० वर्षीया आमा कमला, २१ वर्षकी श्रीमती अञ्जना र २० वर्षीय भाइ राजेशसँगै पुरिएका हुन् । राजेश अझै बेपत्ता छन् भने तीन जनाको शव भेटिएको छ । बिहानै उठेर राति घरभित्र पसेको पानी तर्काउँदै थिए मनोजका आमाबुबा । मनोज, अञ्जना र राजेश सुतिरहेका थिए ।

६ः३० बजेतिर अचानक गर्ल्याम्म आवाज आयो, घर लडायो । बाबु केशवबहादुर थापाको खुट्टा थिचेजस्तो भयो । कमला, मनोज, अञ्जना र राजेशलाई घरले थिचिसकेको थियो । केशव भने जसोतसो भाग्न सफल भए । उनको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘पहिरोले घरमाथिको भित्तोबाट माटोसँगै ४/५ वटा रूखहरू पनि ल्याएको रहेछ,’ स्थानीय सुदीप न्यौपानेले भने, ‘हिलो र रूखले घरलाई छोपेको थियो ।’

उनका अनुसार वरपरका ४/५ वटा घरका परिवारहरू पनि आफ्नो ज्यान बचाउनमै लागिरहेका थिए । ‘सबैलाई आफ्नै ज्यान बचाउनेतिर ध्यान थियो,’ न्यौपानेले भने, ‘उनीहरूलाई बचाउने ख्याल नै आएन ।’ वर्षा लगातार भएको र पहिरोको कारण हिलाम्मे भएर हिँड्न नसक्ने अवस्थाले पनि उद्धारमा जान नसकिएको उनले बताए ।

पहिरोबाट परिवारकै चार जनाको मृत्यु भएकोबारे अझै विश्वास गर्न नसकेको मनोजकी काकी कल्पना थापा बताउँछिन् । ‘हिजो ९आइतबार० मात्र म विदेश जान लागेको, भोलि काठमाडौंका लागि निस्कने हो भन्दै थियो,’ उनले भनिन्, ‘आज सबेरै यस्तो देख्नुपर्‍यो ।’ मनोज गत माघमा दुबईबाट छुट्टीमा आएका थिए तर लकडाउनका कारण जान पाएका थिएनन् । अलिक सहज भएपछि उनले शुक्रबार वडा कार्यार्लयमा गएर काठमाडौं जाने सवारी पासको कागज बनाएका थिए ।

मनोजका भाइ राजेशले पनि प्लस टु सकेर विदेश जानका लागि पासपोर्ट बनाइसकेका थिए । ‘विदेश जाने प्रक्रिया उसले पनि चालिरहेको थियो, केही पैसा काठमाडौंमा बुझाएँ भन्थ्यो,’ कल्पनाले भनिन् । माँझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । व्यास–११ ओडारेका ५२ वर्षीय पदम भुजेल पहिरोले पुरिएर बेपत्ता छन् । व्यास–९ की २६ वर्षीया झनुमाया कुँवर घाइते भएकी छन् । उनको दमौलीमा उपचार भइरहेको छ ।

परिवारकै पाँच जनाको मृत्यु

सोमबारै रिसिङ गाउँपालिका–८ भैंसीकिलेमा अनबहादुर थापाको घर पहिरोले पुर्दा पाँच जनाको मृत्यु भएको छ । अनबहादुरका ३० वर्षीय छोरा भेषबहादुर, २९ वर्षीया बुहारी नानुमाया, २२ वर्षका छोरा महादेव, कान्छी बुहारी १९ वर्षीया मनिसरा र नातिनी ५ वर्षीया अमिशा मृत भेटिएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

पहिरोमा परी घाइते भएकी ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ । यसैगरी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारक्रममा मृत्यु भएको छ । सम्झना रसाइलीले कान्तिपुर दैनिकमा खबर लेखेकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com