‘प्रधानमन्त्रीको स्वीस बैंकमा खाताबारे समाचार भ्रामक’


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । थापाले प्रेस वक्तव्य जारीगर्दै प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको दाबी गरेका हुन् ।

तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमको रवैया खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । “राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनुभएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षड्यन्त्र गर्ने अनेकन तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आम नेपालीलाई त्यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न आह्वान गर्दै सम्बन्धित निकायले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कडा कारवाहीको पनि माग गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com