पहिराले पुरिएर बेपत्ता एक युवक दुई दिन बित्दा पनि भेटिएनन्


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ । पहिराले बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजीकार्य जारी राखिए पनि आजसम्म पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

बेपत्ता भएकाको खोजीकार्यका लागि व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण ९इ० का सहसेनानीका नेतृत्वमा सेना परिचालित छ । सेनाको टोलीले घरभन्दा तलपट्टिको क्षेत्रमा बेपत्ता भएका थापालाई खोज्ने काम गरिरहेको छ । प्रहरी उपरीक्षक पौडेलका अनुसार बेपत्ता भएकाको खोजीकार्यका लागि स्काभेटर पनि प्रयोग गरिएको छ । “बेपत्ता भएकाको खोजीकार्यका लागि निरन्तर लागिपरेका छौँ, तैपनि उनलाई फेला पार्न सकिएको छैन”, पौडेलले भने ।

पहिराले पुरिएर उनकै आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजु २१ वर्षीया अञ्जना थापाको निधन भएको थियो । बुबा ५० वर्षीय केशव थापा भने घाइते छन् । उनको पोखरामा उपचार भइरहेको छ । पहिराले पुरिएर तनहुँको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका ११ जनाको मृत्यु भएको छ भने तीन घाइते छन् । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com