बेला-बेला ‘बोल्ड’ हुने, तुरुन्तै लच्किने र पछि लाग्नेलाई जिल्याउने प्रचण्ड


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ– उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा उत्रने। तिनै आलोचकसँग उत्तिखेरै मिल्न सक्ने। फ्याट्ट बोल्ने। फेरि फनक्क फर्किने। बुझ्न गाह्रो पार्ने विशेषता यिनै हुन्।

अरूलाई त छाडौं स्वयंलाई थाहा छैन– उनी अस्थिर हुन् गतिशील। एउटा सार्वजनिक कार्यक्रममा चासो उठ्दा उनले यसबारे जवाफ दिएका थिए, ‘परिस्थिति कस्तो बनेको छ, त्यसको माग के छ, जनताको भावना र मनोविज्ञान कस्तो छ भन्नेमा मेरो बढी ध्यान जान्छ। त्यसैअनुसार आफूलाई ढाल्ने गर्छु। कतिपयले गतिशील त कतिपयले अस्थिर भनेर बुझ्ने सम्भावना त्यसैमा छ।’

दाहालको राजनीतिक जीवनमा धेरै यस्ता मोड आए, जसमा उनले ‘बोल्ड डिसिजन’ लिएका छन्। तुरुन्तै कमजोरी भयो भन्दै आत्मालोचना र गल्ती स्वीकार गरेका छन्। त्यही स्वभावकै कारण उनले गत वैशाखयता मात्रै आफूलाई पार्टीभित्रको आन्तरिक विवादमा निक्कै कठोर पनि देखाए र तुरुन्तै लचिलो बने। त्यही कारण सहयात्री र शुभचिन्तक भुसुक्कै जिल्लिए।

शनिबारको नेकपा सचिवालयमा उनको प्रस्तुति, ‘बडी ल्याङ्वेज’ र हाउभाउ त्यस्तै लचकताको गतिलो प्रमाण थियो। दाहालकै नेतृत्वमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागियो। त्यसलाई कठोर अडानका रूपमा उनले लिँदै आए। त्यसमा साथ दिएका थिए– वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ। तर, तिनै नेताहरूसमेत चकित हुने गरी शनिबारको सचिवालय बैठकमा ओलीसँगै मिलेर प्रस्तुत भए।

फेरि जिल्लिए उनको प्यानलका नेताहरू

बहुमतले घेराबन्दीमा पारेका ओलीले पार्टी सचिवालयमा मंसिरमै महाधिवेशनको प्रस्ताव राखे। ओलीसँगै दुई घण्टा एक्लाएक्लै छलफलमा बसेर सचिवालय बैठकमा आएका दाहालले ओलीको उक्त प्रस्तावमा पूर्ण समर्थन जनाए। आफैंसँग ओलीको राजीनामा माग गरिरहेका नेतालाई त्यसको सुइँकोसम्म दिएनन्।

‘पार्टीमा विवाद धेरै भए। बीचमा धेरै लामा छलफल–बहसहरू भए। निष्कर्ष निस्कन सकिरहेको थिएन। हामीले आजै पनि दुई अध्यक्षबीच छलफल गर्यौं। प्रधानमन्त्रीले भन्नुभयो, अब महाधिवेशन छिटो गरेर जाऔं। ठीक छ, अब महाधिवेशनबाटै जाऔं’, ओलीको प्रस्तावमा दाहालको समर्थन थियो। तर, दाहाल त्यो भनाइमा ५ घण्टा पनि अडिएनन्। स्वकीय सचिवसमेत रहेकी छोरी गंगामार्फत सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्न लगाए– कुनै सहमति जुटेको छैन भनेर।

दाहालले यसरी सबैलाई पुनः जिल्याए– आइतबार बिहान आउँदासम्म त शनिबारको बोलीमा ‘यू टर्न’ मारिसकेका थिए। खुमलटार निवासमा खनाल, नेपाल, श्रेष्ठलगायत करिब दर्जन स्थायी समिति सदस्यसामु उनले भने,‘हिजो (शनिबार) को बैठकमा महाधिवेशनको प्रस्तावमा आलोचना गर्न नसक्नु र नरम रूपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो। तर, म तपाईंहरूको साथमै छु। निश्चिन्त हुनुहोस्, ओलीजीसँग मैले कुनै सहमति गरेकै छैन।’

महाधिवेशनको प्रस्तावपछि पार्टीको नयाँ मोडबारे ज्ञात हुन आइतबार दाहाल निवासमा नेताहरूको ओहोरदोहोर निकै चल्यो। केहीलाई दाहाल आफैंले बोलाएका थिए। केही भने समय लिएरै पुगेका थिए। त्यहा“ उनले सुरुमा सचिवालयका नेताहरू नेपाल, खनाल र श्रेष्ठलाई राखेर आप्ना कुरा सुनाए। उपाध्यक्ष गौतमले पहिल्यै एक्लै भेटेका थिए। महासचिव विष्णु पौडेलले पनि अलग्गै भेटे। जनार्दन शर्मा र देवेन्द्र पौडेल त्यसअघि नै पुगिसकेका थिए।

सचिवालयका नेताहरूसँग बिफ्रिङ गरिरहेका बेला थपिएका थिए– स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, वर्षमान पुन, पम्फा भुसाललगायत। त्यहाँ दाहालले महाधिवेशनमा समर्थन र राष्ट्रपति निवासमा आफ्नो उपस्थितिबारे प्रष्टीकरण दिएका थिए।

समकालीन राजनीतिक नेताहरूमा दाहाल चिप्लिने, आत्मालोचना गर्न सक्ने र कमजोरी सार्वजनिक रूपमै स्वीकार गर्न सक्ने नेतामा गनिन्छन्। प्रधानमन्त्री ओली तुलनात्मक रूपमा भनाइमा अडिग रहन्छन्। अन्तर्मुखी स्वभावका ओली कडा अडानमा रहन्छन्। पार्टीको बहुमत तागत देखाउँदै दाहाल–नेपाल पक्षले राजीनामा गराउन खोज्दा उनले हरेक भेटमा भन्न छाडेनन्, ‘अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्ने कुरा हो भने कुरै नगरौं। अरू कुरा भए आउनुहोस्।’

दाहालको ठीक उल्टो स्वभाव छ– अडिँदै नअडिने। शान्तिप्रक्रियामा प्रवेश गरेपछि मात्रै उनले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र सेनापति प्रकरणमा रुकमाङ्गद कटवाल हटाउनुजस्ता आफैंले चालेका राजनीतिक कदममा आफ्नो कमजोरी भएको पछि आएर स्वीकार गरेका थिए।

दाहालमा अर्को एउटा विशेषता पनि छ, उनी विपक्षी र कट्टर आलोचकसँग पनि कुनै परिस्थितिमा सजिलै लहसिन्छन्। प्रत्येक विषयलाई निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने उनको तर्क सुनिन्छ।

प्रधानमन्त्रीको राजीनामामा महिनौं अल्झेको विवादमा उनले शनिबार आफूलाई बदलेर नेकपाको आन्तरिक कलहलाई सुरक्षित अवतरणमा जाने वातावरण निम्त्याइसकेका थिए। तर फेरि उनी आफ्नै अडानमा नअडिएपछि नेकपाको आन्तरिक विवाद नयाँ मोडतिर आइपुगेको छ।

ओली निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘प्रचण्ड कमरेडले यस्तो यू टर्न लिनुभयो कि सुरक्षित अवतरणमा गइसकेको पार्टी विवादलाई फेरि नयाँ ढंगले बल्झाउने प्रयास गर्नुभयो।’ पार्टी सचिवालयमै सँगै मोर्चाबन्दीमा रहेका नेपाल, खनाललगायतले दाहालको भूमिकामा प्रश्न उठाएका थिए। तर, उनले आइतबार तिनै नेतालाई निवासमा करिब डेढ घण्टा सम्बोधन गरेका थिए। उक्त छलफलमा सहभागी स्थायी समिति सदस्य रघुजी पन्तले अन्नपूर्णसँग भने, ‘उहाँले प्रस्ट्याएपछि सबै कुरा छर्लंग भयो। हामी उहाँको कुरामा आश्वस्त भएर फर्कियौं।’ नेकपाका एक उच्चस्तरका नेताका अनुसार, असार २१ को छलफलमै ओली र दाहालले विवाद मिलाउन भित्री प्रयास गरेका थिए। उक्त छलफलमा विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई राखिएका थिए। ओली र दाहालले सहमतिको खाका कोर्न अनौपचारिक कार्यदल बनाई जिम्मा लगाएका थिए।

‘जुन दिन नेताहरूले चार नेता रहेको कार्यदल बनाए, त्यही दिन दुई अध्यक्ष करिब सहमतिको नजिक पुगिसकेका थिए’, ती नेताले अन्नपूर्णसँग भने, ‘त्यसपछि निरन्तरको छलफल र प्रयासपछि शनिबार महाधिवेशनको प्रस्तावमा सहमति बनेको थियो।’ अर्को पक्ष– ओलीसँगको छलफलमा दाहालले कुनै न कुनै रूपमा नेपाललाई जोड्न चाहे। केहीअघि ओलीले दाहालसँग भनेकै थिए, ‘तपाई कित्ता स्पष्ट पार्नुहोस्, मतिर कि माधव नेपालतिर ? ’

दुई अध्यक्षको एकल वार्ताको अन्तिममा एक दिन दाहालको प्रस्तावमा नेपाललाई पनि छलफलमा राखियो। तर, त्यहाँ कुरा मिलेन। त्यसपछि केन्द्रीय समिति बोलाउनेतिर विवाद मोडियो। फेरि केन्द्रीय समिति नबसी सचिवालयतिर जाने भएपछि उनका खेमाका नेताहरूले दाहालमाथि शंकाका दृष्टिले हेर्न थालेका थिए। दुई अध्यक्षबीच केही न केही ‘लेनदेन’ भएकैले सचिवालयमा महाधिवेशनको प्रस्ताव आएको र दाहालले समर्थन जनाएको ओलीनिकट एक नेता बताउँछन्।

उनले भने, ‘राष्ट्रपतिकहाँ जाँदासम्म कुरा मिलेर सहमतिमै गएका हुन्। तर त्यहाँ के कुरामा अप्ठ्यारो आइलाग्यो र दाहाल यू टर्न भए, यो भने खुलेको छैन।’ कतिपयले आशंका गरेका छन्– त्यहाँ दाहाललाई उधारो अध्यक्षको आश्वासन दिइयो वा अध्यक्षमा ओलीले सहयोग गर्दा ‘जनताको बहुदलीय जनवाद’ को राजनीतिक कार्यक्रम स्वीकार गर्नुपर्ने प्रस्ताव आयो। केही न केही भएर दाहालले बाटो मोडेको हुन सक्छन्।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com