विदेशबाट फर्कने नेपालीका लागि स्वास्थ्य मन्त्रालयले बनायो यस्तो ‘मापदण्ड’


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरुले होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पुरा गरि घरमै क्वारेन्टिनमा बस्न पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । होम क्वारेन्टिनसम्बन्धी मापदण्ड २०७७ स्वास्थ्य मन्त्रालयले जारी गरेको उनले बताए ।

मापदण्ड जारी भएसँगै कोरोना प्रभावित क्षेत्रबाट आएका व्यक्ति घरमै १४ दिनसम्म क्वारेन्टिनमा बस्न पाउने भएका छन् । स्थानीयतहको निगरानी र सहमतिमा मात्रै होम क्वारेन्टिन ०७७ मापदण्ड पालना गरेर १४ दिनसम्म घरमा बस्ने पाइने उल्लेख गरिएको छ ।

होम क्वारेन्टिनमा पालना गर्नुपर्ने मापदण्ड :

१. भौतिक पूर्वाधारः

क. हावा खेल्ने तथा पर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्ने व्यवस्था भएको हुनु पर्ने,

ख. सकेसम्म स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरुपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने डिसइन्फेक्टेन्टलेले राम्रोसँग सफा गरे पश्चात मात्रै अन्य सदस्यले प्रयोग गर्ने व्यवस्था मिलाउने ।

२. पालना गर्नु पर्ने जनस्वास्थ्यका मापदण्डहरु :

क. भौतिक दूरीः घरका सदस्यहरू वा आफन्तसँग भेटघाट गर्दा २ मिटरको दूरी अनिवार्य रुपमा कायम गर्ने ।

अत्यावश्यक अवस्थामाबाहेक कसैसँग भेटघाट नगर्ने । मास्कको प्रयोग, क्वारेन्टिनमा बस्ने व्यक्ति र निजको परिवारका सदस्यले भेटघाट वा कुराकानी गर्दा अनिवार्य रूपमा मेडिकल मास्क वा ३ तहको कपडाको मास्क प्रयोग गर्ने ।

कपडाको मास्क प्रयोग गर्दा प्रयोग पश्चात धोएर राम्रो सँग सुकाए पछि मात्रै पुनः प्रयोग गर्ने । हात धुने वा स्यानिटाइज गर्ने, समय—समयमा साबुन पानीले हात धुने वा अल्कोहलयुक्त स्यानीटाइजर प्रयोग गर्ने ।

आधारभूत मापदण्डहरु :

– अनावश्यक वस्तु तथा सतहहरु नछुने,

– अनुहारको टी क्षेत्र –आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुने,

– खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनाले छोप्ने,

– जथाभावी नथुक्ने,

– सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय कारोबार गर्ने,

– प्रयोग गरिएका भाँडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनःप्रयोग गर्ने,

– हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने भएकोले दाँत माझ्ने ब्रस लगायतका समानहरु राख्न छुट्टै बेसिनको प्रयोग गर्ने, धेरै प्रयोग हुने चीजहरु जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,

– हात धुने साबुन र पानीको उचित व्यवस्था गर्ने र सबै सदस्यहरुले समय समयमा साबुन–पानीले कम्तीमा २० सेकेण्डसम्म मिचीमिची हात धुने ।

३. आवश्यक सामग्रीहरूको व्यवस्था सम्बन्धमा :

क. क्वारेन्टिन अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने । आवश्यक पर्ने खाद्यपदार्थ लगायतका सामग्रीहरू परिवारका अन्य सदस्य, छिमेकी वा आफन्तहरू मार्फत मगाउने,

ख. नजिकको पसलबाट फोन वा अनलाइन सेवा मार्फत अर्डर गरी आवश्यक सामग्रीहरू धेरै दिनका लागि एकै पटकमा मगाउने ।

४. शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धमा :

क. आफूलाई सक्रिय राख्न, पुस्तकहरू पढ्ने, रेडियो सुन्ने वा टिभी हेर्ने तर शारीरिकरूपले निष्कृय हुने समयलाई सीमित राखी योगा तथा अन्य शारीरिक व्यायामहरू गर्ने

ख. नकारात्मक र भ्रमपूर्ण समाचारहरुबाट टाढा बस्ने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य आधिकारिक निकायहरूबाट जारी गरिएका जानकारी तथा सूचनाहरु लिने ।

ग. कुनै डर वा भ्रम वा जिज्ञासा भएमा नेपाल सरकारले तोकेको हटलाइन (११३३) वा मनोपरामर्श केन्द्रहरुमा फोनमार्फत सम्पर्क गरी परामर्श र सही सूचना लिने ।

५.जोखिम समूहको सुरक्षा सम्बन्धमा :

क. बढी जोखिममा रहने समूहहरु जस्तैः दीर्घरोगीहरु (उच्च रक्तचाप, मुटु रोगी, दम वा श्वासप्रश्वाससम्बन्धी समस्या, क्यान्सर, मृगौला रोग लगायतका स्वास्थ्य समस्या भएका आदि), ६० वर्ष माथिका जेष्ठ नागरिकहरु, गर्भवति तथा सुत्केरी महिलाहरुलाई सम्भावित संक्रमितको सम्पर्कबाट टाढा राख्ने र संभव भएसम्म छट्टै कोठामा राख्ने,

ख. बढी जोखिममा रहने समूहहरूको पोषण, औषधि, बिशेष स्याहार लगायतका व्यवस्था परिवारका अन्य सदस्यहरुले गर्नुपर्दछ ।

६. फोहोर व्यवस्थापन :

क) क्वारेन्टिनमा बसेका व्यक्तिले विसर्जन गरेका वस्तु तथा सामग्रीहरू (टिस्यु पेपर,कागतपत्र आदिको) उचित तवरले छुट्टै विसर्जन गर्नुपर्नेछ । सम्भव भएसम्म यसप्रकारका फोहोर करेसाबारी वा बगैचामा खाल्डो खनेर पुर्न उपयुक्त हुन्छ ।

७. स्वास्थ्य अवस्थाबारे जानकारी :

क. आप्mनो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सक/ स्वास्थ्यकर्मी तथा नजिकको स्वास्थ्य संस्थामा नियमित रुपमा जानकारी गराउने,

ख. निम्न अवस्थाहरुमा देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै स्थायीय निकाय वा नजिकको स्वास्थ्य संस्था वा जिल्लास्थित स्वास्थ्य कार्यालयमा जनकारी दिनु पर्नेछ ।

– ज्वरो र श्वास–प्रश्वासमा कठिनाइ भएमा

– ज्वरो र खोकी लागेमा

– छाती दुखे वा भारी महसुस भएमा

– अन्य कुनै जटिल अवस्था देखिएमा

८. अन्य व्यवस्था :

क. यस मापदण्ड बमोजिम कुनै व्यक्ति होम क्वारेन्टिनमा रहन नसक्ने अवस्था भएमा नेपाल सरकारले तोकेको सार्वजनिक क्वारेन्टिनमा रहन नसक्ने अवस्था भएमा नेपाल सरकारले तोकेको सार्वजनिक क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने जिम्मेवारी स्थानीय सरकारको हुनेछ ।

९. अन्य जानकारी :

क. कम्तीमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्नेछ र १४ दिनसम्ममा कुनै पनि लक्षण (ज्वारो १००.४ डि.से, खोकी वा स्वास–प्रश्वाससम्बन्धि समस्या आदि) नदेखिएमा अर्को एक हप्तासम्म सकभर अन्य व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नआउने गरि भौतिक दुरी कायम गर्दै, मास्क प्रयोग गरी समयमा हात धोइ व्यक्तिगत र घरका सामान्य कामहरु गर्न सकिने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com