कोरोना राउण्डअप : प्रहरीमा ३६९ कोरोना संक्रमित, १४९ ‘डिस्चार्ज’
प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार
नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।
हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।
कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द
एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागका सेवा बन्द गरिएको छ ।विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ ।
विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । अब संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण गरिने बताइएको छ । हाल कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।
नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
नेपालमा सोमबार पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ३३८ जना कोरोना संक्रमित थपिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड- १९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ।
उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ मा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।
मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।
धनुषाकै शहीद नगरपालिका-८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि नभएको प्रजिअ भट्टराइले बताए । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
विराटनगरका न्यायाधीशलाई कोरोना संक्रमण
जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । दालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।
श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जनाए ।
न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ । सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ ।
एभरेष्ट बैंकको प्रधान कार्यालयमा २ जनालाई कोरोना संक्रमण
एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यारत २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको छ ।
तर, कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बताईएको छ । बैंकका एक अधिकारीका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।
सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्ने र कार्यालयलाई डिस्इन्फेक्सन गर्ने बताईएको छ । बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुनेछ ।