विद्यालय शिक्षाबाटै वञ्चित चेपाङ
प्रकाशित मिति : बैशाख ११, २०७४ सोमबार
नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै देशभर भर्ना अभियान सञ्चालन भइरहेका छन् । शिक्षाबाट बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षाको घेरामा ल्याउन सरकारले भर्ना अभियान गर्दै आएको छ ।
तर गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोक–७ छतिवनगैराका चेपाङ बालक विद्यालय शिक्षाबाट वञ्चित छन् । विद्यालय टाढा भएर होइन, के खाने रु के लगाउने रु भन्ने मुख्य समस्याले गाँजेपछि बालबालिका विद्यालय पढ्न जान सकेका छैनन् । चेपाङ बालबालिकाको दिनचर्या खेल्ने, गोठालो जाने र अर्काको काम गर्दैमा बितेको छ ।
छतिवनगैराका विशाल, कुमार, प्रेम चेपाङ विद्यालय पढ्न जाने उमेरका छन् । घर नजिकै प्रजाज्योति प्राथमिक विद्यालय र शिव निम्न माध्यामिक विद्यालय छ । तर, उनीहरु दिनभर खेलेरै समय बिताउँछन् । खान, लाउनकै समस्याले छोराहरु पढाउन नसकेको बाबु डन्डु चेपाङले दुखेसो गरे । मेला गएको दिन घरमा चुलो बल्छ नभए भोकभोकै सुत्नुपर्ने बाध्यता डन्डुको घरमा छ ।
ढुङ्गा, माटो र काठको जोडाइले बनेको घर भूकम्पले चिराचिरा बनाए पनि निजी आवास पुनःनिर्माणमा चेपाङ परिवारले अनुदान रकम पाएनन् । जनता आवास कार्यक्रममार्फत चार वर्ष अघि सरकारले जस्तापाताले छाएको एक तले घर बनाइदिएको थियो । सोही घर भूकम्पपछि धराप बनेको छ । घरभित्र खानेकुरा, लत्ताकपडा केही छैनन् । पानी भर्ने बाल्टी, खाना पकाउने कसौडी, खाने थालबाहेक भान्सामा अन्य भाँडाकुँडा छैनन् ।
डन्डुको नाममा जग्गा छैन । दाजुभाइको नाउँमा रहेको एक रोपनी जग्गामध्ये एउटा घडेरी कान्छीआमा जुनकिरीलाई दिए डन्डुले । बाँकी रहेको पखेराको छेउबाटै मोटरबाटो खनिएको छ । भिरालो पखेरामाथि डन्डुको झुप्रो घर छ । डन्डुका दुई छोरा कुमार र विशाल हुन् । काखे छोरो विशाललाई छाडेर श्रीमती अन्यत्रै बिहे गरी हिँडेपछि डन्डुले छोराहरु हुर्काए ।
डन्डुले भने, “काम गरेको दिन खान पाइन्छ । काम नपाएको दिन भोकभोकै सुत्छौँ ।” कान्छा छोरा विशाल डन्डुको साथी हो । जेठो छोरा कुमार छिमेकीको घरमा डेक ९टिभी० हेर्न पाइने भएकाले उत्तै रमाउँछ । खानेपानी लिन १५ मिनेट टाढाको खोलामा धाउनुपर्छ । करेसाबारी बाँझै छ । डन्डुको घरमा सम्पत्तिको नाउँमा एउटा थोत्रो रेडियो र गाई छ । “मेला गएर ल्याएको दुई, तीन सय रुपैयाँले चामल किन्ने कि, भुटुनमसला किन्ने कि, नुन किन्ने कि के–के किन्ने रु” डण्डुले गुनासो गर्दै भने, “बिरामी परेको दिन आफू त भोकै पर्छु पर्छु, छोराहरु समेत भोकभोकै हुन्छ ।” स्थानीय शिक्षक अनुप चेपाङले भर्ना हुने तर नियमित विद्यालय नजाँदा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएको बताउनु भयो ।
गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङलगायत गाउँमा करिब ६०० घरपरिवार चेपाङको बस्ती छ । जनता आवास कार्यक्रममार्फत बर्सेनि सरकारले चेपाङ परिवारलाई घर बनाउँदै आएको छ । झुप्रोमा बस्दै आएका चेपाङ घरमा बस्न पाएका छन् तर, उनीहरुको जीविकोपार्जनमा सुधार ल्याउने खालका सहयोगी कार्यक्रम सरकारी तवरबाटै हुन सकेको छैन । रासस