नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २७, २०७७ शनिबार
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०१ जनामा कोरोना भाइरस कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २०१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३७ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जना उपचारपछि डिस्चार्ज भएका छन् । ७०.६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १५ हजार २६० संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार १०७ जना रहेका छन् । होम आइशोलेशनमा ६ हजार १५३ रहेका छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ३५४ रहेका छन् । आज १० हजार १७६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
उपत्यकामा थप ४३१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ३७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा ६९६ जनामा संक्रमण देखिएको थियो ।
थप १४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको हो । आज मृत्यु पुष्टि हुनेमा सुनसरीका ४३ वर्षिय पुरुष, पर्साकी ७८ वर्षिया महिला, काठमाडौँकी ४६ वर्षिया महिला, ५१ र ५२ वर्षिय २ पुरुष, भक्तपुरका ७२ र ३८ वर्षिय २ पुरुष, चितवनका ६१ वर्षिय पुरुष, तनहँकी ७६ वर्षिया महिला, स्यांग्जाका ८५ वर्षिय पुरुष, गोरखाका ४५ वर्षिय पुरुष, कास्कीका ५१ वर्षिय पुरुष, रपन्देहीका ६० र ४० वर्षिय २ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।