सिन्धुपाल्चोक पहिरो : पाँच जनाको शव भेटियो, ३१ बेपत्ता


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुई जनाको सनाखत हुन बाँकी छ ।

पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ । अविरल वर्षासँगै आईतबार बिहान करिब ३ बजेतिर आएको पहिराले  नगरपालिकाको भीरखर्कका १० र नाग पुच्छेका ८ घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

सभामुख सापकोटा घटनास्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com