अमेरिकाका अध्यागमन अदालतमा नेपालीका ३९०९ केसहरु पेन्डिङ, सुनुवाई डिसेम्बर १४ अगाडि नहुने
प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार
न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई डिसेम्बर १४ अगाडि नहुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले डिसेम्बर ११ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा डिसेम्बर १४ सम्म स्थगित भएको छ ।
स्थगन मिति हरेक साता बढाइदै गएकाले त्यसपछि पनि स्थगन मिति बढ्नसक्ने अनुमान गरिएको छ । न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा डिसेम्बर १४ सम्म बन्द रहनेछन् ।
यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।
अध्यागमन अदालतमा सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित भएका छन् । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका छन् ।
अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३९०९ केसहरु पेन्डिङ रहेका छन्, जसमध्ये ३८६७ केसहरु इमिग्रेशन सम्बन्धित रहेका छन् । १४ वटा केसहरुभने अपराधसँग सम्बन्धित रहेका छन् । इमिग्रेशनका नेपालीका पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै न्युयोर्कको फेडरल प्लाजामा १७०५ केसहरु रहेका छन् ।
न्युयोर्क राज्यका ४ वटा अदालतहरुमा नेपालीका पेन्डिङ इमिग्रेशन केसहरु २०५५ रहेका छन् ।
नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।