बाल्यकालमा आएका कागजपत्रविहिनलाईमात्र नागरिकताको बाटोमा लैजाने दुईदलीय बिल प्रस्ताव
प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार
डेमोक्रेटिक सिनेटर डिक डर्बिन र रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाईमात्र नागरिकताको बाटोमा लैजाने दुईदलीय बिल प्रस्ताव ल्याएका छन् । उनीहरुले ल्याएको अध्यागमन सुधार प्याकेज ड्रिम एक्टकै पछिल्लो संसोधन हो । यो बिल प्रस्ताव पहिलोपटक सन् २००१ मा ल्याइएको थियो ।
राष्ट्रपति जो बाइडेनले अध्यागमन सुधारका एजेण्डाहरु लागु गरिरहँदा र ट्रम्पकालिन अध्यामगन नीतिहरु उल्टाउने क्रम जारी राख्दा यो बिल ल्याइएको हो । यो ड्रिम एक्ट संसदबाट पारित गर्न कैयनपटक असफल भएपछि तत्कालिन राष्ट्रपति बराक ओबामाले सन् २०१२ मा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम ल्याएका थिए ।
ड्रिम एक्टले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई सुरुमा ग्रिनकार्ड र कालान्तरमा नागरिकताको बाटोमा लैजाने प्रावधान समेटेको छ छ । तर त्यसका लागि हाइ स्कुल ग्रयाजुएसन, उच्च शिक्षाको खोजी, सेनामा काम गरेको, पृष्ठभूमि परीक्षण लगायतका केही मापदण्डहरु पूरा गर्नुपर्ने उक्त बिलमा उल्लेख छ । संसदका विगतका दुईवटा सेसनमा पेश गरिएका बिलहरुसँग यो ड्रिम एक्ट २०२१ मिल्दोजुल्दो रहेको छ ।
विगत १५ बर्षदेखि अमेरिकी संसदले अध्यामगन सुधारको कुनै पनि बिल पारित गरेको छैन । पिउ रिसर्च सेन्टरको सर्भे अनुशार ७५ प्रतिशतभन्दा धेरै अमेरिकनहरु बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजानुपर्ने पक्षमा छन् । यो बिल प्रस्ताव राष्ट्रपति जो बाइडेनको ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने योजनाभन्दा बाहिरको प्रस्ताव हो ।
बाइडेनले पदभार सम्हालेको पहिलो दिन संसदमा पठाएको बिलमा जनवरी १ अगाडि आएका कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव गरिएको छ ।
बाइडेन समर्थित बिल पारित भएमा जनवरी १, २०२१ सम्म अमेरिकामा रहेका कागजपत्रविहिन आप्रवासीहरु यो बाटोबाट ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनेछन् ।
डाका र टीपीएसले समेटेकाहरु तथा कृषि कामदारहरु अन्य मापदण्ड पूरा गरेको खण्डमा तत्कालै ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । अरुका लागि ग्रिनकार्ड प्राप्त गर्न ५ बर्ष अस्थायी स्टाटसमा बस्नुपर्ने हुनसक्छ ।
बाइडेन बिलको केन्द्रमा रहेको मुख्य विषय लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने नै हो । त्यसका लागि ८ बर्षको बाटो बनाइनेछ । अर्थात् उनीहरुले नागरिकता प्राप्त गर्न ८ बर्ष लाग्नसक्छ ।
योग्य आवेदकले सुरुमा ५ बर्षको अस्थायी स्टाटस प्राप्त गर्नेछन् । त्यसका लागि कर तिरेको, अपराध नगरेको लगायतका मापदण्डहरु पूरा गर्नुपर्नेछ ।
योग्य कागजपत्रविहिनहरुले ५ बर्षपछि अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नेछन् । सामान्यतया अरु व्यक्तिले ग्रिनकार्ड प्राप्त भएको ५ बर्षमा अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुने भएपनि प्याकेजले समेटेकाहरु भने ३ बर्षमा नै नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् । यसरी ग्रिनकार्ड हुँदै नागरिकता प्राप्त गर्दासम्म ८ बर्ष लाग्न सक्नेछ ।
ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जानका लागि को को व्यक्ति योग्य हुनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट छैन । तर बाल्यकालमा अमेरिका आएका र डाकाले समेटेका कागजपत्रविहिनहरु, टीपीएसले समेटेकाहरु र अत्यावश्यक कामदारहरु यो प्याकेज अन्तरगत ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा जान योग्य हुनसक्ने जनाइएको छ ।
जनवरी १ सम्म अमेरिकामा आइसकेकाहरुलाई बिलले समेट्ने भएकाले सिमाबाट अमेरिका छिर्न अब हतार गर्नेहरुलाई कुनै फाइदा हुनेछैन ।
निश्चित अवधिभन्दा अगाडि अमेरिका आएका कागजपत्रविहिनहरु पनि यो बिल पारित भए ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् । त्यसो भएमा जनवरी १ भन्दा अगाडि अमेरिका आएका एसाइलम पेन्डिंग रहेका लगायत सबै कागजपत्रविहिनहरु ग्रिनकार्ड हुँदै नागरिकताका लागि योग्य हुनसक्नेछन् ।
यदि बाइडेन बिल पारित भएमा अमेरिकाको इतिहासमा सन् १९८६ यताकै बृहत प्याकेज हुनेछ । सन् १९८६ मा राष्ट्रपति रोनाल्ड रेगनका पालामा अध्यागमन सुधार तथा नियन्त्रण ऐन १९८६ ल्याइएको थियो । उक्त बिलले ३० लाख कागजपत्रविहिनलाई वैद्य स्टाटस प्रदान गरेको थियो ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सन् २०१८ को डिसेम्बरमा निकालेको एउटा तथ्यांक अनुशार अमेरिकामा सन् २०१५ को जनवरी १ अगाडि अमेरिका आएका ११ दशमलव ९६ मिलियन कागजपत्रविहिनहरु रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक सन् २०१५ पछाडिको सार्वजनिक भएको छैन ।
झण्डै ११ मिलियन कागजपत्रविहिनहरुमध्ये झण्डै ५ मिलियन मेक्सिकनहरु रहेका छन् । झण्डै २ मिलियन मध्य अमेरिकनहरु रहेका छन् भने झण्डै डेढ मिलियन एसियनहरु रहेका छन् । कागजपत्रविहिन ११ मिलियनमध्ये झण्डै दुई तिहाई १० बर्षभन्दा बढी अमेरिकामा बस्दै आएकाहरु छन् । ५ बर्षभन्दा कम समयदेखि अमेरिकामा बसेका कागजपत्रविहिनहरु २० प्रतिशत रहेका छन् ।
झण्डै ८ लाख कागजपत्रविहिनलाई डाकाले समेटेको छ । झण्डै ४ लाखलाई टीपीएसले समेटेको छ । डाकाले समेटेका नेपालीहरु झण्डै ५ दर्जन रहेका छन् भने टीपीएसले समेटेकाहरु झण्डै ९ हजार छन् । अध्यागमन अदालतमा एसाइलम पेन्डिंग रहेका नेपालीहरु झण्डै ४ हजार रहेका छन् । यदि बृहत अध्यागमन बिल पारित भएमा अमेरिकामा रहेका २५ हजार भन्दा धेरै नेपालीहरु ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताका लागि योग्य हुनसक्नेछन् ।