प्रचण्ड–माधव पक्ष : सर्वोच्चको फैसला कार्यान्वयन गर्ने, आ-आफ्नै पार्टीमा रहेर संघर्ष गर्ने
प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायमै रहेको फैसला गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह आ–आफ्नै पार्टीमा रहेर संघर्ष गर्ने निर्णयमा पुगेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठक यो निष्कर्षमा पुगेको हो।
बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेकाे छ। सँगै, फैसला पुनरावलोकनमा जाने पनि नेताहरुले बताएका छन्।
एमाले नेता झलनाथ खनालले अदालतको फैसलालाई कार्यान्वयन गरे पनि यसप्रति आफूहरुको गहिरो असहमति रहेको बताए। उनले अब अब आ–आफ्नो पार्टीमा रहेर वाम एकतालाई अगाडि बढाउन दृढतापूर्वक लाग्ने पनि बताए।
यसअघि सोमबार बिहान शंखमुलस्थित अर्याल होटलमा बसेको माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुको बैठकले एमालेमै रहेर ओलीप्रवृत्तिविरुद्ध लड्ने र वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो।
योसँगै एमाले नेताहरुका लागि सोमबारको पेरिसडाँडाको बैठक अन्तिम बन्ने भएको छ। अब एमालेका नेताहरु पार्टीमै फर्कने निश्चित भएको छ। प्रतिनिधिसभा विघटनसँगै नेकपाबाट पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुको समूह अलग भएर प्रचण्ड–माधव समूहको रुपमा गतिविधि गर्दै आएको थियो।
यता ओलीपक्षले एमालेलाई ब्युँताएको छ। ओली समूहले सोमबार नै नुवाकोट र मोरङमा एमाले पार्टी कार्यालय पुनःस्थापना गरी गतिविधि अगाडि बढाएकाे हाे। अध्यक्ष केपी ओलीले पनि आइतबार नै एमाले केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका थिए।