निर्वाचन आयोगसमक्ष नेपाल–खनाल पक्षको आग्रह–ओलीका अवैधानिक निर्णयलाई मान्यता नदेऊ
प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार
नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले निर्वाचन आयोगलाई एक पत्र लेखी केपी ओली पक्षको अनधिकृत निर्णयलाई मान्यता नदिन आग्रह गरेको छ।
खनाल–नेपालसहित उपाध्यक्षहरु युवराज ज्ञवाली तथा भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण बिस्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले यस्तो आग्रह गरेका हुन्।
उनीहरुले आफूहरुलाई कुनै जानकारी नदिई बहुमतसमेत नभएको बैठकबाट पार्टी विधानविपरीत केन्द्रीय कमिटीका पदाधिकारीलाई पदबाट हटाइएको, जिम्मेवारी हेरफेर गरिएको, केही व्यक्तिलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको कदम एमालेको विधानविपरीत रहेको भन्दै मान्यता नदिन आग्रह गरेका छन्।
‘उल्लेखित वैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसला एवं त्यस आयोगको सूचनाविपरीत गरिने कुनै पनि कामकारबाही एमालेको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुर्याउने र अवैधानिक ठहर्छ,’ निवेदनमा भनिएको छ।