ओली–नेपाल वार्ता : फागुन २८ को निर्णय खारेज गर्नुपर्ने अडानमा नेपाल पक्ष
प्रकाशित मिति : चैत्र २, २०७७ सोमबार
प्रतिनिधिसभा विघटनयता शत्रुतापूर्ण व्यवहार, घोचपेच र आलोचनामा उत्रिएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पहिलोपटक एकै लहरमा देखिएका छन्। दुवैबीच सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको हो। वार्ताका लागि ओली र नेपाललाई समान लहरमा कुर्सी राखिएको थियो।
वार्ताको सुरुवात सकारात्मक माहोलमा भए पनि दुवै पक्षको अडानपछि कुनै निष्कर्ष निस्कन सकेन।
माधव नेपाल पक्षले केपी ओली पक्षले फागुन २८ गते गरेको निर्णय खारेज हुनुपर्ने माग अघि सारेको छ भने ओली पक्षले निर्णयबाट पछि नहट्ने जनाउ दिएको छ। फागुन २८ मा ओली पक्षको केन्द्रीय समिति बैठकले नेपालपक्षलाई कारबाही गर्दै विभाग र प्रदेशको जिम्मेवारी हेरफेर गरेको थियो।
वार्ता निष्कर्षविहीन भए पनि नेताहरुले बाहिर सञ्चारकर्मीसँग सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिएका थिए।
वार्तामा नेपाल पक्षले फागुन २३ को सर्वोच्चको फैसलाअनुसार एमाले पूर्ववत अवस्थामा गएकाले त्यसपछि गरिएका निर्णय मान्य नहुने अडान राखेको थियो। ‘सर्वोच्चको फैसलापछि राजनीतिक, व्यावहारिक र वैचारिक दृष्टिबाट पार्टी पूर्वअवस्थामा गयो, त्यो कुरा स्वीकारिएन भने हामीलाई मान्य हुँदैन,’ एमाले नेता भीम रावलले भने।
उनले २८ गते ओलीपक्षको केन्द्रीय समितिले गरेका निर्णय प्रभावशून्य हुन्छ भनेर आफूहरुले राखेको उल्लेख गर्दै भने, ‘हामीले राखेका कुरालाई स्वीकारिएको सुन्न पाइएन, हामीबीच सहमति भएन।’
दुई पक्षबीच अर्को बैठक गर्ने सहमति भएको छ। तर बैठकको मिति भने तोकिएको छैन।