संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने नेपाल–खनाल पक्षको निर्णय


प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ।

सो समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा भएको बैठकले उक्त निर्णय गरेको हो। २८ फागुनको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय नेपाल–खनाल समूहले गरेको हो। प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको सो समूहको आरोप छ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुनसक्ने नेपाल–खनाल समूहले जनाएको छ।

सर्वोच्च अदालतको फैसलापछि ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टी केन्द्रीय कमिटी र विभागहरुमा हेरफेर गरेका थिए। उक्त बैठकले माधव नेपाल समूहलाई कारबाही गरेको थियो। त्यसपछि भएको ओलीसँगको वार्तामा पनि नेपालपक्षले २८ फागुनको निर्णय खारेजीको माग राखेको थियो। उक्त बैठकले पार्टी महाधिवेशन तोक्दै माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com