के छ नेपाल–खनाल पक्षले बालुवाटारमा बुझाएको ५ बुँदे पत्रमा?
प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार
नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षले पार्टीको संसदीय दलको विधान नभएको र सर्वोच्च अदालतबाट पुनर्जीवित भएको स्थितिमा संसदीय दलको नयाँ विधान निर्माण गरी नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अनुमोदन अनिवार्य रहेको जनाएको छ।
केपी ओली पक्षको संसदीय दलको बैठक बसिरहेकै समयमा नेपाल–खनाल पक्षले बुझाएको ५ बुँदे पत्रमा उक्त कुरा उल्लेख गरिएको हो।
‘यस्तो स्पष्ट वैधानिक प्रक्रियाका विपरीत गरिने कुनै पनि कार्य कानुन र पार्टी विधानविपरीत हुन्छ। त्यस्तो कार्यमा जननिर्वाचित एमोको कुनै पनि सदस्यले समर्थन जनाउन वा त्यस्तो कार्य गर्न प्रोत्साहन गर्न मिल्दैन,’ पत्रमा भनिएको छ।
संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुने एमालेको अभ्यास र पद्धति रहँदै आएकोमा यसविपरीत प्रधानमन्त्रीको सरकारीनिवासमा संसदीय दलको बैठक बोलाउने कार्य उक्त पद्धति र अभ्यासविपरीत मात्र हुने नेपाल–खनाल पक्षले उल्लेख गरेको छ।
पत्रमा सो पक्षका ३८ सांसदले हस्ताक्षर गरेका छन्।
पत्र बुझाउन सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका थिए।