नेपाल–खनाल पक्षले बनायो विद्यार्थी संगठनमा पनि समानान्तर कमिटी


प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीमा समानान्तर गतिविधिलाई तिब्रता दिएका छन्। सो समूहले विद्यार्थी संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन गरेको हो।

मंगलबार काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले सुदेश पराजुलीलाई अध्यक्ष चयन गरेको छ। पराजुली यसअघि संगठनका सचिव थिए।

सहअध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामालाई चयन गरिएको छ। यस्तै, सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन शर्मा पराजुली, कल्याण दाहाल र प्रदीप थापा चयन भएका छन्।

सर्वोच्चको फागुन २३ को फैसलापछि एमालेमै रहेर संघर्ष अगाडि बढाउने भन्दै फर्किए पनि केपी ओली पक्षल नेपाल–खनाल पक्षलाई बाइपास गर्दै निर्णय गर्दै आएको छ। सोहीक्रममा अध्यक्ष केपी ओलीले आफूपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर नेपाल–खनालपक्षीय नेताहरुको जिम्मेवारी खोसेका थिए। त्यसपछि नेपाल–खनाल समूह अझ आक्रोशित बनेको छ।

ओलीको निर्णयलगत्तै सो समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो। उक्त भेलाले ओलीविरुद्ध तल्लो तहसम्मै समानान्तर कमिटी बनाउने र समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम मंगलबार अनेरास्ववियुको राष्ट्रिय भेला आयोजना गरिएको थियो।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com