कोरोना जोखिम : काठमाडौंमा सार्वजनिक यातायातमा मास्क अनिवार्य


प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्क प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच शुक्रबार भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार शुक्रबारको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ।

सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com