वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन
प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार
पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको साेमबार निधन भएको छ। एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका मानन्धरको ९१ वर्षको उमेरमा साेमबार साँझ ८.२० मा निधन भएको उनका ज्वाईं डा नारायण श्रेष्ठले जानकारी दिए।
राणाविरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए। जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए।
नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिए पनि निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए। मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएकाे उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।
संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गरेका मानन्धरले खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरे। पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्थे।
उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छन्। यस्तै, उनका तीन छोरी छन्। दिवङ्गत नेता मानन्धरको मङ्गलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने ज्वाई श्रेष्ठले जानकारी दिए। रासस