एमालेका यी ४ सांसद, जसको सहयोगले जोगियो कर्णाली सरकार
प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार
एमालेका ४ सांसदको सहयोगले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही सरकार ढल्नबाट बचेको छ।
शुक्रबार बिहान पार्टीले विश्वासको मत नदिन ह्वीप जारी गरे पनि त्यसलाई उल्लंघन गर्दै एमालेका ४ सांसदले फ्लोर क्रस गरेका हुन्। जसमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन्। उनीहरु माधव नेपाल समूहका हुन्।
मत विभाजनमा ३७ सांसदले भाग लिएकोमा विश्वासको मतका पक्षमा २२ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त गर्न २० सांसदको समर्थन आवश्यक थियो। कांग्रेसका ६ सांसदले पनि प्रस्तावको पक्षमा मत दिएका थिए।
कर्णाली प्रदेशमा सभामुखसहित ४० सांसद छन्। मुख्यमन्त्री शाहीको दल माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, राप्रपाका १ र एमालेका सभामुखसहित २० सांसद छन्। नेकपा एमालेका २० मध्ये माधव नेपाल समूहका ९ सांसद छन्।