काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा
प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार
काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लाग्ने भएको छ । सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।
‘कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौं,’ उहाँले भन्नुभयो , ‘अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।’
कोरोना संक्रमण बढ्न थालेपछि सोमबारदेखि नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन् ।
बाँके र बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा
कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ। आज राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउन गर्ने निर्णय भएको थियो । सङ्क्रमण फैलिँदै गएकाले जिल्लाभरि निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरु हुन् ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।
आंशिक लकडाउनको तयारीमा सरकार
यसैबीच सरकारले कोरोना महामारी नियन्त्रणबारे निर्णय गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।
एक मन्त्रीका अनुसार मन्त्रिपिरषदले लकडाउन गर्नेबारे निर्णय लिने सम्भावना छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने तत्काल देशव्यापी रूपमा लकडाउन हुने सम्भावना नरहेको बताएका थिए । पार्टी प्रवक्ता समेत रहेका ज्ञवालीले तीव्र गतिमा सङ्क्रमण फैलिरहेका हटस्पटहरूमा आंशिक लकडाउन हुनसक्ने भए पनि राष्ट्रव्यापी त्यस्तो नहुने जानकारी दिएका थिए ।
आइतबार उपत्यकाको तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले लकडाउन वा निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।
सीसीएमसीले पहाडमा २ सय र सहरी क्षेत्रमा ५ सय संक्रमित भएका जिल्ला कोभिड व्यवस्थापन केन्द्रले निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको छ ।
पूर्व निर्धारित सबै परीक्षा स्थगित
त्यस्तै सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिनुभयो ।
कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि प्रतिबन्धात्मक आदेश गर्दै उपत्यकासहित ठूला शहरहरूमा विद्यालय बन्द गरेको सरकारले चालु परीक्षाहरू नरोक्ने निर्णय गरेको थियो । बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसींलाई दिन सिफारिस गरेको छ ।
पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।
यस्तै हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ । ट्रान्सजिट उडान रोक्न र स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्न पनि सिफारिस भएको छ ।