बजेट ०७८/७९ : एनआरएन स्मार्ट कार्ड वितरणको घोषणा
प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार
सरकारले गैरआवासीय नेपालीको छुट्टै पहिचान दिने एनआरएन स्मार्ट कार्ड वितरण गर्ने भएको छ। शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटमा यस्तो घोषणा गरेको हो।
यस्तै, गैरआवासीय नेपालीको ज्ञान, पुँजी र प्रविधिलाई राष्ट्रिय विकासमा उपयोग गर्न नेपाल सरकारको समेत लगानीमा स्थापित एनआरएन कोषलाई पूर्वाधार विकासमा उपयोग गरिनेछ ।
ब्रेन गेन सेन्टरलाई क्रियाशील बनाई विदेशमा विशेषज्ञता एवं विशिष्टता हासिल गरेका नेपालीको ज्ञान राष्ट्र निर्माणमा उपयोग गरिने बजेटमा उल्लेख छ ।
यसैगरी, विदेशमा रहेका नेपालीको हित संरक्षण,संक्रमण जोखिमबाट सुरक्षा तथा मर्यादित रोजगारीको निरन्तरताका लागि विदेशस्थित नियोगलाई परिचालन गरिनेछ। प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न तयारी कार्य अघि बढाइनेछ। राहदानी सेवालाई सुरक्षित र भरपर्दो बनाउन आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी लागू गरिने बजेटमा उल्लेख छ।