पूर्वराजाले भने–मुलुक संकट र अन्योलको अवस्थामा


प्रकाशित मिति : असार १६, २०७८ बुधबार

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक यतिखेर संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्। बुधबार एक सन्देश जारी गर्दै पूर्वराजाले यस्तो बताएका हुन्।

उनले मुलुकमा अहिले राजनीतिक, राज्यप्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्था देखा परेको उल्लेख गरेका छन्।

परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाएको भन्दै उनले राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘आफ्ना मूल्यमान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त बनेको छ,’ उनले भनेका छन्, ‘कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन्। यसैगरी देशमा वर्षाको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ, जनजीवन दुःखद छ।’

शाहले जनतामा पैदा भएको निराशा तथा भोग्नुपरेको पीडालाई ध्यानमा राख्दै असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको जनाएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com