५ हजार आम्दानी नहुने नेताको लाखौं खर्च र आम्दानीको अदृश्य श्रोत
प्रकाशित मिति : असार २७, २०७८ आईतबार
– अस्मिता खड्का
केहीदिन अगाडि नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सरकारमा भएको पार्टी, त्यसमाथि आन्तरिक कलहमा रुमलिएकाहरुको बैठकका बारेमा आम मानिसदेखि नेता कार्यकर्ता र मिडियाको चासो हुनु स्वभाविक थियो ।
नेताहरुलेमात्र होइन, बैठकस्थल बाहिर कम्पाउण्डमा लाम लगाईएका एक से एक ब्राण्डका गाडीहरुले पनि उत्तिकै ध्यान खिच्यो । ध्यान खिच्नुको मुख्यकारण आयश्रोत विनाका नेताहरु यस्ता महँगा गाडी कसरी चढ्छन् ? कहाँबाट आउँछ पैसा ? जब सम्पत्ति विवरण सार्वजनिकको कुरा आउँछ तब उनीहरुसँग दुई चार लाख बाहेक केही देखिदैन । यो कुरा एमाले पार्टीमा मात्र लागु हुँदैन, अस्तित्वमा रहेका सबै राजनीतिक पार्टीभित्र यो अबस्था रहेको छ ।
राजनीति पेशा होइन सेवा हो भन्दै राजनीतिमा लागेका मानिसहरुले आयश्रोत विना अकुत सम्पती कसरी कमाउछन् ? यो गम्भीर प्रश्न हो । यसको प्रत्यक्ष मार आम नागरिकहरुमा परेको छ । समाज र देशको विकाश नहुने प्रमुख कारणमध्येको एक हो, राजनीतिकर्मीहरुको अदृश्य आयश्रोत । हेर्दा कमाउने धमाउने ठाउँ छैन तर नेताहरु महँगो जीवनशैली बिताइरहेका हुन्छन् ।
राजनीतिक अगुवा हुनासाथ काठमाण्डौँमा घर बन्छ । राजधानीमा बस्नु पर्ने, पाहुनाको रुपमा मात्रै गाउँमा जाने । अतिथि भनेर आउने र कार्यक्रममा ब्याज लगाउने, माला लगाउने अनि भाषण छाँट्ने र गाडीको लाम लगाएर फर्कने संस्कारको विकास भएको छ ।
यसरी हेर्दा, देशको विकास र समाजको परिवर्तन कसरी हुन्छ ? माक्र्सवादले भन्छ, समाज परिवर्तन गर्नका लागि भनिदिएर मात्र पुग्दैन, तिमी आफैले गरेर देखाउनुपर्छ । यो कुरा उनीहरु आफैले सञ्चालन गर्ने कार्यकर्ताको कक्षामा भन्दै आएको कुरा हो ।
भाषणमा दुनिया व्याख्या गरेर मात्र हुँदैन । राजनीतिक अगुवाहरुको काम भनिदिने मात्रै भएको छ, व्यवहारमा शुन्य । जतिसुकै ठूलो मानिस भएपनि, जतिसुकै ठूलो जिम्मेबारीमा भएका भए पनि, यो भएन, त्यो भएन, यो गर्दछु, त्यो गर्दछु भन्ने मञ्चमा उभिएर ट्याक्क, टुक्क भाषण गर्ने र आशा देखाउने बाहेक अरु देखिदैन । राजनीतिक रुपमा देशमा ठूला परिवर्तन भए तर बहुसंख्यक जीवनस्तर जस्ताको तस्तै छ । हरेक क्षेत्रमा आमुल परिवर्तनको अगुवा गर्ने साँच्चैका जननेता हुन् भने उनीहरु बहुसंख्यक जनतासँग लामबद्ध हुनसक्नु पर्दछ ।
जनताको माझबाट आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन गर्न जनताकै जीवनस्तरलाई अंगाल्नु पर्दछ । अहिलेकै जनताको जीवनस्तर अँगाल्न सकिदैन भने जनताको जीवनस्तर उकाशेर त्यसलाई अँगाल्नुपर्छ । न कि गाउँठाउँमा पर्यटक जस्तो गरी आउने, मञ्चमा उभिएर ठूला ठूला बाचा गर्ने र राजधानी वा शहर पस्ने !
अहिले राजनीतिकर्मीहरुले आयआर्जन हुने केही काम गरेको देखिदैन तर उनीहरुले गरेको खर्च डरलाग्दो हुन्छ । उच्चस्तरीय जीवनशैली बिताई रहेका हुन्छन् । घर, गाडी, बच्चाहरु पढाउने स्कुल त्यही खालका छन् । महिनामा लाखौं खर्च देखिन्छ तर आयश्रोत पाँच हजारको पनि देखिदैन । उनीहरु चल्ने भनेको अदृश्य आयश्रोतबाट हो । त्यो अदृश्य आयश्रोतबाट चल्नुनै भष्ट्रचार हो । देशलाई राजनीतिक आडमा लुट्नु हो ।
यसरी नीति निर्माणमा रहेका मानिसहरुनै अदृश्य आयश्रोतबाट चलिराखेका छन् भने उनीहरुको नेतृत्वमा भ्रष्टाचारमुक्त देश कसरी सम्भव हुन्छ ? सुशासन कसरी कायम हुन्छ ? अर्को राजनीतिक अगुवाहरुको दिमागमा गाउँदेखि शहरसम्म विकास गर्ने भनेको सडक लैजाने, बत्ति लैजाने र खाने पानी दिने हो, बाँकी आफै हुन्छ भन्ने छ ।
सडकसँगै जोडिएर आउने, शिक्षा, चेतना, रोग, संस्कार, विदेशी संस्कृति र बहुराष्ट्रिय कम्पनीद्धारा उत्पादिन बस्तुहरु र त्यसले स्थानीय उत्पादनमा पार्ने असरको बारेमा सचेत गराउन सक्नुपर्छ । तर, यो हुन सकेको छैन ।
सडकसँगै बहुराष्ट्रिय कम्पनीद्धारा उत्पादित चाउचाउ, बिस्कुटदेखि लिएर अरु प्याकेटको खाना गाउँगाउँमा आईपुगेको छ । गाउँको मानिसहरुको दिमागमा सुख सुविधा भनेको प्याकेटमा आएका खाना खानु हो भन्ने गहिरो छाप छ । यस्तो बुझाईले गाउँघरको स्थानीय उत्पादन पछि परेको छ भने मान्छेहरुको स्वास्थ्य विग्रेको छ ।
गाउँमा जमिन बाँझो छ । मानिसहरु आफ्नो बारी खन्नुभन्दा खाडी मुलुकमा जाने होड चलेको छ । मानिसहरु उत्पादनसँग जोडिन सकेका छ्र्रैनन् । त्यसका लागि बजार र प्रोत्साहन छैन । गाउँका किसानहरुको समस्या, यहाँका सम्भावनाको बारेमा नीति निर्माण गर्नेबारे राजनीतिक अगुवाहरुको ध्यान छैन ।
परिवारको सदस्य खाडीमुलुकमा कमाउन जान वित्तिकै परिवारका अन्य सदस्यहरु गाउँ छोड्ने, शहरमा सानै भएपनि कोठा लिने, छोराछोरी बोर्डिङ स्कुलमा पढाउने र खाडीबाट आएको पैसा बैंकबाट निकाल्ने जीवनशैलीको विकास भएको छ । विदेशबाट आउने रेमिट्यान्स उत्पादनमुलक काममा उपयोग भएको छैन । विलाशितामा खर्च भएको छ । र, यो एउटा संस्कृतिकै रुपमा विकास भएर आएको छ ।
यसको मुख्य हल राजनीतिक पार्टीहरुले नै खोज्नु पर्दछ । त्यसको लागि पहिला आफुले व्यवहारमा देखाउनुपर्छ । अरुले देखेरै सिक्छन् ।