नयाँदिल्लीमा अब सातामा ६ उडान सञ्चालन हुने
प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार
नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएका छन्।
यसअघि नयाँदिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो। सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार अब नयाँदिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए। अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् ।
यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ। उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ।