नेपालमा कोरोनाबिरुद्धको खोपको पूर्ण डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी
प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार
नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुशार एक मात्रा मात्र कोरोनाबिरुद्धको खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको छ ।
देशभरिका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३,१६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो ।
सर्वेक्षणले देशभरिका ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखाएको मन्त्रालयले जनाएको छ ।
सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको वक्तब्यमा जनाइएको छ ।
नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप वितरण भइरहेको छ ।
कुन खोप कति प्रभावकारी ?
कोभिशिल्ड (आष्ट्राजेनेका) खोप डेल्टा भेरियन्टबिरुद्ध पनि उच्च प्रभावकारी रहेको निष्कर्ष रहेको छ । न्यु ईंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोध अध्ययन अनुशार कोभिशिल्डको दुबै डोज लगाएपछि त्यसको प्रभावकारिता डेल्टा भेरियन्टबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको छ । नेपालमा डेल्टा भेरियन्टको उच्च संक्रमण रहेको छ ।
यो खोप विगतको अल्फा भेरियन्टबिरुद्ध ७५ प्रतिशत प्रभावकारी देखिएको थियो । तर एकडोजमात्र लगाएको खण्डमा भने डेल्टा भेरियन्टबिरुद्ध कोभिशिल्ड लक्षणसहितको संक्रमण रोक्न कम प्रभावकारी रहेको छ । एकडोजमात्र लगाएको खण्डमा भने ३० प्रतिशतमात्र प्रभावकारी रहेको देखिएको थियो ।
नेपालमा समेत वितरित चाइनिज भ्याक्सिन साइनोफार्मको भेरोसेल भ्याक्सिन लक्षण कोरोनाबिरुद्ध ७८ प्रतिशत प्रभावकारी पाइएको थियो । तर यो भ्याक्सिनको अन्तिम क्लीनिकल परीक्षणमा ६० बर्षभन्दा कम उमेरका व्यक्तिमात्र सहभागी रहको थिए । त्यसकारण बढी उमेरका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताबारे परीक्षणका क्रममा समेत कुनै तथ्यांक थिएन ।
८० बर्षमाथिका व्यक्तिमा कोरोनाबिरुद्ध शुन्य संरक्षण प्रदान गरेको एक अध्ययनले निष्कर्ष निकालेको थियो । हंगेरीमा गरिएको सर्वेक्षणमा यस्तो निष्कर्ष निस्किएको थियो ।
विश्व स्वास्थ्य संगठनका एकजना सल्लाहकारले ६० बर्षमाथिका व्यक्तिमा भेरोसेल भ्याक्सिनको प्रभावकारिताबारे महिनौं अगाडि पनि प्रश्न उठाएका थिए । तर जब विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको थियो, त्यतीबेला बढी उमेरका व्यक्तिमा काम नगर्ने कुनै छुट्टै कारण नभएको बताइएको थियो ।
जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर लगभग शुन्य रहेको छ ।