यसपटकको दशैं गतबर्षको भन्दा सहज तर जोखिम कायमै, साइत १० बजे
प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार
गतबर्षको दशैंको तुलनामा यसबर्षको दशैं केही फरक हुने भएको छ । गतबर्ष महामारीका बीचमा दशैं मनाइएको थियो भने खोप पनि आइसकेको थिएन । तर यो बर्ष खोप अभियानका बीच दशैं मनाइदैछ । जोखिमयुक्त जनसंख्याको ठूलो हिस्साले खोप लगाइसकेको छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताउनुभयो ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७: ११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७ : ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८: ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।
महामारीका कारण जोखिम भने कायमै
दशैं लगायतका चाडवाडहरु नजिकिदै गर्दा भींडभाड र जमघटहरु बढ्ने भएकाले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले सचेत रहन स्वास्थ्यविदहरुले चेतावनी दिएका छन् । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्ट सक्रिय रहेको र यो भेरियन्ट अत्यन्तै संक्रामक रहेकाले चाडवाडमा थप सावधानी अपनाउन रहन सचेत गराइएको हो ।
सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भाइरसहरुको म्युटेसन नियमित हुने भएकाले खोपको पहुँच पर्याप्त मात्रामा नभएसम्म नयाँ म्युटेसनको जोखिम कायम नै रहेको बताएका छन् । कोरोनाविरुद्धको खोपको पहुँच ९० प्रतिशत जनसङ्ख्यामा नपुग्दै डेल्टा भेरियन्ट जत्तिकै सङ्क्रामक भेरियन्ट नेपालमा देखिए अवस्था जटिल पनि हुनसक्ने उनको भनाई छ ।
त्यस्तै माइक्रोबायोलोजिष्ट डाक्टर प्रकाश घिमिरेले पनि ९० प्रतिशत जनसङ्ख्याले खोप नलगाएसम्म नयाँ म्युटेड भेरियन्टको जोखिम कायम रहने बताएका छन् । कोरोना भाइरसको जुनसुकै भेरियन्ट वा म्युटेसनको लागि खोपको अलावा स्वास्थ्य मापदण्डको पालना, मास्कको प्रयोग र स्यानिटाइजरको प्रयोग आवश्यक रहेको घिमिरेको भनाइ छ । दशै, तिहार जस्ता चाडवाडमा स्वास्थ्य मापदण्डको पालना नगर्ने र भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुसँग घुलमिल बढ्दा सङ्क्रमणको जोखिम अझै बढ्दै जान सक्ने उनले बताए ।
कोरोना संक्रमण घट्दो, भ्याक्सिन अभियान जारी
यो साताको संक्रमण संख्या हेर्दा अघिल्लो साताको तुलनामा घट्दो देखिन्छ । तर पछिल्लो विवरण हेर्दा दैनिक एकहजारदेखि १५ सयसम्म नयाँ संक्रमितहरु थपिएको सरकारी तथ्यांक रहेको छ । अगस्तको अन्तिमदेखि संक्रमितहरुको संख्यामा केही कमी आएको देखिएको हो ।
भ्याक्सिन अभियान जारी रहेकै बेला संक्रमण र मृत्यु संख्यामा केही कमी देखिएको छ । संक्रमण घटेजस्तो देखिए पनि जोखिम उत्तिकै रहेको विज्ञहरुको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले केही दिनयता संक्रमण दर घटेको जस्तो देखिएपनि परीक्षण कम हुँदा केस घटेको देखिएको बताएका छन् । परीक्षण बढ्दा केस पनि बढ्ने भएकाले सबैले सोचेजस्तो जोखिम भने घटेको रुपमा लिन नहुने उनको भनाई छ ।
सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अगाडि नै एकलाख खोप डोज आउने र १८ बर्षभन्दा मुनीकालाई लगाउन सुरु गरिने बताएका छन् । यस अगाडि १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुसको अन्तिमसम्ममा आइपुग्ने सरकारी अधिकारीहरुले बताएका थिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्।
नेपालमा अहिलेसम्म १८ वर्ष भन्दा बढीको उमेर समूहलाई तीन प्रकारका कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराइदै आएको छ।
नेपालका तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइसकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेललका अनुशार मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाइएको छ ।
काठमाडौँ उपत्यकामा ४० प्रतिशतभन्दा बढी, भक्तपुरमा ४१ प्रतिशत भन्दा बढी र ललितपुरमा ३८ प्रतिशत भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाइसकेका छन् । तर मुलुकभरको अवस्था हेर्दा भने झण्डै १८ प्रतिशत जनसङ्ख्याले मात्र खोपको पूर्णमात्रा लगाएका छन् ।
सरकारले असोज मसान्तसम्ममा कुल योग्य जनसंख्याको ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।