अति कम विकसित मुलुकका ज्येष्ठ नागरिक
प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभएको छ । उहाँले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुवाआमाको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।” त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ ।
वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ । मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गर्नुभएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उहाँहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताउनुभयो ।
जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवासुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमाPandemicsM Do they change how we address age and ageing भन्ने नारा निर्धारण गरेको छ । हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका सन्दर्भमा यो नारा सामयिक छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ । नेपालमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ । यो परिभाषाअनुसार हाल देशको कुल जनसङ्ख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिक छन् । नेपालको जनसङ्ख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसङ्ख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ । आगामी दशकभित्रै यो ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ ।
नेपालको संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् । ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ ।
विगतको तुलनामा ज्येष्ठ नागरिकको लागि गरिएको व्यावस्था राम्रो छ तर यो भने पर्याप्त होइन । ज्येष्ठ नगारिक ऐन र नियमावली अनुरूप पाउने सेवासुविधा अझै ज्येष्ठ नागरिकले पाउन सकेका छैनन् । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि २०५१ सालदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता आजसम्म निरन्तरता छ ।