लिभिङ टुगेदर दर्ता गर्न सांसदको माग: ‘शारीरिक सम्पर्क र विवाहका लागि फरक उमेर तोकिदा समस्या’
प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार
नेपालको विद्यमान कानून अनुशार शारीरिक सम्पर्कका लागि १८ बर्ष उमेर तोकिएको छ भने विवाहका लागि २० वर्ष उमेर तोकिएको छ । अर्थात् सहमतिमा यौनसम्पर्कका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ भने विवाह गर्नका लागि २० बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।
यो प्रावधानले समस्या निम्त्याएको र यसमा हेरफेर हुनुपर्ने सांसदहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा विवाहका लागि उमेरको प्रावधान घटाउनुपर्ने माग गरेका छन् ।
मुलुकी देवानी संहिता २०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । यादवले विवाहको उमेर घटाउनै पर्ने बताए । उनले मधेसमा भएपनि विवाहको उमेर घटाउनुपर्ने जिकिर गरे । मधेसमा गरिबी भएकाले बढी उमेर भए गाह्रो हुने उनको तर्क छ ।
यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका थिए । समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने बताए ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने प्रावधान छ । उमेरको प्रावधानका बाबजुत पनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिने कानूनी प्रावधान रहेको छ ।
अन्य देशमा के छ प्रावधान ?
अमेरिकामा अधिकांश राज्यमा विवाहका लागि १८ बर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । नेब्रास्कामा १९ र मिसिसिपीमा २१ बर्ष तोकिएको छ । सहमतिमा यौन सम्पर्कका लागि भने फरक फरक राज्यमा फरक फरक प्रावधान रहेको छ । न्युयोर्कमा १७ बर्ष उमेर पुगेपछि सहमतिमा यौन सम्पर्क गर्न सकिन्छ भने कतिपय राज्यमा १६ र १८ बर्ष तोकिएको छ । कतिपय राज्यमा उमेरको फरक थोरै भएको वा समानता भएको सन्दर्भमा केही छुटहरु दिइएको छ ।
बेलायतमा पनि अधिकांश क्षेत्रमा विवाहका लागि १८ बर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान रहेको छ । बंगालादेशमा केटाको उमेर २१ र केटीको १८ हुनुपर्ने प्रावधान रहेको छ । त्यस्तै चीनमा केटोको उमेर २२ र केटीको उमेर २० हुनुपर्ने प्रावधान रहेको छ । युरोपका प्राय सबै देशमा स्वेच्छिक रुपमा विवाहका लागि केटाकेटीको उमेर १८ बर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । कैयन देशमा विवाहका लागि फरक र समहमतिमा यौन सम्पर्कका लागि फरक फरक उमेर तोकिएको छ ।
लिभिङ टुगेदरलाई कानुनी मान्यताको माग
कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । लिभिङ टुगेदरको पनि दर्ता गर्नुपर्ने र अस्थायी बिहेको मान्यता दिनुपर्ने उनको तर्क रहेको छ ।
चोरीचोरीकन बस्ने र अपराध हुने भएकाले यी विषयहरूलाई स्पष्ट पार्नुपर्ने उनको सांसद यादवको भनाई छ । नेपालमा लिभिङ टुगेदर कानूनले सम्बोधन नगरेको विषय हो । सर्वोच्च अदालतले ०५५ साल जेठ २५ गते गरेको एउटा फैसलाबाट लिभिङ टुगेदरको अवधारणा नेपाली समाजमा स्थापित गराउन सहयोग त गरेको छ । तर, यस्तो लिभिङ टुगेदरको कानुनी हैसियत र अधिकारबारे अहिलेसम्म स्पष्ट छैन ।
लिभिङ टुगेदरको सम्बन्धमा बाँधिएका जोडीवीच कुनै कानुनी समस्या आइपरे वा महिलापुरुष जो कोही पीडित भएमा कानुनले कसरी सम्बोधन गर्ने भन्नेबारे स्पष्ट छैन । लिभिङ टुगेदरको सम्बन्ध बनाएर बसेका जोडीहरु नेपालमा प्रसस्तै छन् ।
लिभिङ टुगेदर बस्नेहरुको उजुरी महिला सेल तथा राष्ट्रिय महिला आयोगमा बढेको पाइन्छ । तर यसलाई सम्बोधन गर्ने स्पष्ट कानून छैन । नेपालमा लिभिङ टुगेदरलाई लिएर छुट्टै कानून नभएकाले यससँग सम्बन्धित घटनालाई घरेलु हिंंसामै राखिएको छ । गत आर्थिक बर्षको सुरुको ५ महिनामा ४ सय ८ वटा घरेलु हिंसाको उजुरी आएकोमा जसमध्ये २० वटा लिभिङ टुगेदरसँगै सम्बन्धित थिए ।