बन्द विद्यालय खुल्न थालेपछि विद्यार्थी उत्साहित, तर १८ बर्ष मुनिकालाई खोप नआउँदा जोखिम बढ्दो
प्रकाशित मिति : आश्विन १८, २०७८ सोमबार
कोरोनाको कहरले बन्द रहेका विद्यालय खुल्न थालेपछि विद्यार्थी नियमित विद्यालय जान थालेका छन् । लामो समयसम्म विद्यालय जान नपाएर घरमै बस्न बाध्य विद्यार्थी झोला बोकेर स्कुल पोशाकमा विद्यालय जान पाउँदा धेरै खुसी देखिएका छन् । तर १८ बर्ष मुनिकालाई कोरोनाबिरुद्धको खोप नलगाउँदै विद्यालयहरु खोलिएकोमा स्वास्थ्यविदहरुले भने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विद्यालयमा स्वयम् उपस्थित भएर पढ्न पाउँदा धेरै छिटो बुझन सकिने पाल्पाको रामपुर आवासीय अङ्ग्रेजी बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत सुस्मा सिग्देल बताउँछिन् । उनी भन्छिन् – ‘विद्यालय बन्द हुँदा घरमा बसेर अनलाइन कक्षा पनि पढियो, अनलाइन कक्षाको तुलनामा भौतिकरुपमा विद्यालयमा नै उपस्थित भएर पढ्दा नै छिटो बुझ्न सकिने, धेरै कुरा सिकिने, विद्यालय जान पाउँदा रमाइलो लागेको छ ।’
बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खाजा खाने समय कटाएर नियमित पढाउन थालिएको पाल्पाको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । “खाजा खाने समयलाई शिक्षण कार्यमा सदुपयोग गरी दिउँसो २ बजेसम्म नियमित कक्षा चलाइएको छ, विद्यार्थी विद्यालयमा आउन पाउँदा असाध्यै खुशी भएका छन्”, प्रअ लम्सालले भने ।
केही पालिकाका विद्यालयले भने दसैं अघि परीक्षा सक्ने गरी प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । कोरोनाको कहर कम हुँदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत भदौ २७ गतेदेखि नै रामपुर नगरपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन भइरहेको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउँछन् । पाल्पाका केही पालिकाका विद्यालयले बन्दाबन्दीका समयमा इन्टरनेटका माध्यमबाट कक्षा सञ्चालन गरेका थिए । इन्टरनेटको पहुँच नभएका विद्यार्थीले बन्दाबन्दीमा घरमै खेलेर समय बिताउन बाध्य थिए ।
अभिभावकहरु अन्यौलमा
विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी महामारीसँगै गाउँमा गएका थिए । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौँमै अध्ययन गर्ने खड्काका छोराछोरी गाउँ गएका थिए ।
ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौँमै छिन् । दोस्रो लहरको कोरोना महामारी सुरु भएसँगै उनका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका थिए । तर गत आइतबारदेखि काठमाडौँ महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्य गरेपछि उनी अन्यौलमा परिन् ।
उनले भनिन् – “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैँ शुरु हुन केही दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौँ ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भयो ।”
दशैं आउनै लाग्दा विद्यालय संचालन हुँदा कैयन अभिभावकहरु भने बेखुशी छन् । काठमाडौँको वसन्तपुर निवासी यशोदा थापाले भनिन् – “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?”
काठमाडौं महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निणर्य बिहीबार गरेको थियो । लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ ।
सङ्क्रमण घटेपनि जोखिम थप चुलिँदो
स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले भने, “सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन ।”
उनले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताए । कोरोना सङ्मणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ ।
राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले स्थानीय तहले आ-आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरे ।
अहिले सहरी क्षेत्रका विद्यालय धमाधम खोलेर विद्यार्थीमा थप सङ्क्रमण बढेमा त्यसको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उनले चेतावनी दिए ।
सरुवा रोग विशेषज्ञ डा सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने बताए ।
“उपत्यका बाहिरका ग्रामीण भेगका थोरै विद्यार्थी रहेका विद्यालय सञ्चालनमा ल्याए पनि घना बस्ती भएका सहरी क्षेत्रका विद्यालय पुनःसञ्चालनमा ल्याउने समय भएको छैन, त्यसका लागि कम्तीमा तिहारसम्म हेर्नुपर्छ”, उनको भनाई छ ।
काठमाडौँ उपत्यकाभित्रकै थिमि नगरपालिकाले मुख्य चाडवाड नजिक आइरहेको र त्रास पनि कायमै रहेकाले दशैँअघि विद्यालय नखोल्ने जनाएको छ ।
कहिले पाउँछन् १८ बर्षभन्दा मुनिकाले खोप ?
गत साता चितवनमा संचारकर्मीसँगको कुराकानीमा दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने र लगाउन सुरु गरिने बताएका सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अब १८ बर्षभन्दा कम उमेरकालाई दसैंपछि खोप लगाउन सुरु गरिने बताएका छन् । यसअगाडि उनले दसैँ अगाडि एकलाख डोज खोप ल्याइने र फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको बताएका थिए ।
राज्यमन्त्री श्रेष्ठले दसैँलगत्तै एक लाख फाइजर खोप आउने उनले बताए । १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको उनले बताए । ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको उनले बताए ।
सरकारले ६० लाख फाइजर खोप खरिद गरिएको र त्यो छिट्टै आउने बताइरहँदा उक्त खोपको भण्डारण पूर्वाधार नेपालमा उपलब्ध छैन। सरकारले यस अगाडि माइनस ७० डिग्री सेल्सीअसमा भण्डारण गरिने कोभिड-१९ विरुद्धको फाइजर खोप केन्द्र र प्रदेशहरूमा भण्डारण गर्न मिल्नेगरी संरचनाहरू निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताएको थियो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुखले खोप भण्डारणको क्षमता विस्तारको कामलाई अघि बढाइएको र सन् २०२२ को प्रारम्भमा फाइजर खोप राख्न मिल्ने किसिमको चिस्यानसहितको भण्डारण क्षमता जडान भइसक्ने बताएका थिए ।
नेपालले विश्व ब्याङ्क र गाभीमार्फत् ४० लाख मात्रा मोडेर्ना खोप खरिदका लागि पनि सम्झौता गरेको छ। माइनस ५० देखि माइनस १५ डिग्री सेल्सीअसबीचको फ्रिजरमा भण्डारण गरिने उक्त खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटरमा एक महिनासम्म राख्न सकिने बताइएको छ।
४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै
यस अगाडि १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुसको अन्तिमसम्ममा आइपुग्ने सरकारी अधिकारीहरुले बताएका थिए ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्। सरकारले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरेको छ ।
उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको सरकारी भनाई छ । नेपालमा अहिलेसम्म १८ वर्ष भन्दा बढीको उमेर समूहलाई तीन प्रकारका कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराइदै आएको छ।
आष्ट्राजेनेका (कोभिशिल्ड) , भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोपहरु नेपालमा वितरण गरिएका छन् । जसमध्ये सबैभन्दा धेरै भेरोसेल वितरण गरिएको छ ।
पुस मसान्तसम्म बालबालिकाहरुलाई लगाउन मिल्ने त्यस्ता खोपहरू ल्याउने योजना रहेको र अहिले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेको सरकारी अधिकारीको भनाई छ ।
मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्चमा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको छ ।