नेपालको ग्रामिण क्षेत्रमा सुरक्षित गर्भपतन सेवा बन्द हुँदा जोखिमपूर्ण गर्भपतन, ट्रम्पकालिन नीतिको प्रभाव कायम
प्रकाशित मिति : आश्विन २५, २०७८ सोमबार
ट्रम्पको नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाउँदा त्यसको प्रभाव नेपालमा समेत परेको थियो । बाइडेनले केहीमहिना अगाडि उक्त नीति खारेज गरेपनि त्यसको प्रभाव कायम छ ।
दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो । जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र,विशालपुर, सिद्धेश्वर, शर्माली, हाट, रिम, कोटपेटरा र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले जानकारी दिनुभयो ।
हाल जिल्लाका नौ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । उहाँले भन्नुभयो, “गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ, कर्मचारी समायोजनपछि रहेका तालिमप्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो । ”
हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेका छौँ ।” सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ ।
सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको हो । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताउनुभयो । “असुरक्षित गर्भपतनले ज्यान जोखिम पर्नुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ, गर्भपतन गराउँदा सुरक्षित रुपमा नै गराउनुपर्दछ । ”
यसैबीच सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा बन्द भएपछि पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७७७, ७६/७७ मा ५८१ र ७७/७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५/७६ मा २४, आव २०७६/७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
सुरक्षित गर्भपतन सेवा दिने स्थान घटेका, परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित गर्नपतनको सेवा दिने संस्था घटेकाले र परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुनसक्छन्, ।” तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले तराईमा गएर पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
ट्रम्पको नीतिका कारण प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका संस्थामा परेको प्रभाव
यसअगाडि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त नीतिले अमेरिकाबाट संघीय सहायता प्राप्त गर्ने एजेन्सीहरुलाई गर्भपतनबारेका कुनै सेवा प्रदान गर्न र गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाउँदा त्यसको प्रभाव नेपालमा समेत परेको थियो । राष्ट्रपति जो बाइडेनले केहीमहिना अगाडि उक्त नीति खारेज गरेपनि त्यसको प्रभाव कायम छ ।
अमेरिकी सहायता प्राप्त गरेका संस्थालाई गर्भपतनबारे छलफल समेत गर्नमा ट्रम्पको रोकले नेपालमा प्रजनन स्वास्थ्यबारे सेवा प्रदान गरिरहेका विभिन्न संस्थाहरु प्रभावित भएका थिए ।
जसमा कारण नेपाली महिलाहरुका लागि प्रजनन स्वास्थ्यबारे कार्यक्रम चलाइरहेका संस्थाहरुले आफ्ना कार्यक्रममा स्वरुप नै परिवर्तन गर्नुपरेको थियो । साथै ग्रामिण क्षेत्रका कैयन नेपाली महिलाहरु प्रजनन स्वास्थ्यबारे सेवा र जानकारी लिनबाट समेत वञ्चित हुन पुगेका थिए ।
ग्लोबल ग्याग नियम सन् १९८४ मा तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले लागु गरेका थिए । त्यो यता प्राय हरेक डेमोक्रेटिक राष्ट्रपतिले यसलाई रद्द गर्दै आएका छन् भने रिपब्लिकन राष्ट्रपतिले यसलाई लागु गराउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले यो नियमलाई अझ कडा बनाए । अन्य रिपब्लिकन राष्ट्रपतिहरुले यो नियम अन्तर्राष्ट्रिय गैरसरकारी परिवार नियोजन संस्थाहरुलाईमात्र लागु गराएका थिए तर ट्रम्पले अमेरिकी सहायता प्राप्त गर्ने कुनै पनि संस्थालाई गर्भपतनबारे छलफल गर्नमा समेत रोक लगाए ।
सन् २०१९ को मार्चमा त ट्रम्पले यो नियममा अझ कडाई गरेका थिए । अमेरिकाबाट आर्थिक सहायता प्राप्त गर्ने संस्थाले सहयोग गरेका स्थानीय सघसंस्थालाई समेत गर्भपतनबारे छलफल गर्नमा रोक लगाएका थिए । जसका कारण नेपालमा अमेरिकी सहायतामा संचालन भइरहेका कैयन संघसंस्थाले प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रममा कटौती गर्नुपरेको थियो ।
ट्रम्पको नीतिका कारण प्रजनन स्वास्थ्यबारे युएसएआईडीको सहयोगमा नेपालमा संचालन भइरहेका कैयन रेडियो तथा टेलिभिजन कार्यक्रमहरुले समेत आफ्नो स्वरुप परिवर्तन गर्नुपरेको थियो । नेपालमा युएसएआईडीले जनस्वास्थ्य र महिला स्वास्थ्य सम्बन्धित विभिन्न कार्यक्रमहरुमा आशिंक रुपमा सहयोग गर्दै आएको छ । ट्रम्पले ल्याएको नीतिका कारण युएसएआईडीले दर्जन बढी जिल्लामा सहयोग रोकेको थियो ।
बाइडेनले कार्यकारी आदेशमार्फत ट्रम्पकालिन नीति खारेज गरिदिएका थिए । त्यसपछि युएसएआईडीले नेपालमा प्रजनन स्वास्थ्य र गर्भपतनबारे जनचेतनामुलक काम गरिरहेका वा महिला स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुलाई सहयोग उपलब्ध गराउन सक्ने अवस्था आएको छ । परिवार नियोजनका क्षेत्रमा काम गरिरहेका गैर नाफामुलक संस्थाहरुले अमेरिकी सहायता प्राप्त गर्न सक्छन् ।
अब अमेरिकी सहायतामा नेपालका महिलाहरुले पनि प्रजनन स्वास्थ्यबारे पूर्ण सुविधा र सुचनाहरु लिनसक्छन् । अमेरिकी सहायता प्राप्त संघसंस्थाहरुले गर्भपतनबारे जानकारी र विभिन्न सल्लाह तथा सुचनाहरु प्रदान गर्न सक्छन् ।
फोटो साभार: काठमाडौं पोष्ट