काठमाडौँ उपत्यकामा शुक्रवार रातिदेखि जोरबिजोर प्रणाली


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले भोलि  (शुक्रवार) रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।

उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

जोर–बिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको छ । जारी आदेशमा डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । त्यस्तै, सार्वजनिक सेवा लिन जाँदा तथा सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com