फेरी अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिनुभयो ।

“आइतबारदेखि दुई–तीन दिन  मौसम सुधार हुने र   बुधबार बिहीबारदेखि पुन :अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ”, उहाँले भन्नुभयो ।

राति प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री र अधिकतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव एक डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com