ओबामा प्रशासनले क्युवासँग गरेको सम्झौता तत्काल रद्द गर्छु : ट्रम्प
प्रकाशित मिति : असार ३, २०७४ शनिबार
असार ३, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले क्युवा सरकारसँग गरेको सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको छ । मायामीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णत: एकतर्फी सम्झौताहरु म तत्काल लागू हुने गरी रद्द गर्दैछु ।’ दुई वर्षअघि अमेरिका र क्युवाबीच द्विपक्षीय आदानप्रदान एवम् राजनीतिक सम्बन्ध कायम गर्न सम्झौता भएको थियो । ओबामा प्रशासनले खुकुलो पारेको यात्रा प्रतिबन्ध र व्यापारिक सहजतालाई पनि राष्ट्रपति ट्रम्पले स्थगित गर्नुभएको छ । ट्रम्पको कदमपछि क्युवा र अमेरिका आवातजावतमा यात्रुले थप जटिलता व्यहोर्नुपर्ने भएको छ । यद्यपी क्युबासँगको द्विपक्षीय आदानप्रदानको नीति पूर्ण रुपमा खारेज नभएको र अगामी दिनमा क्युवाले बनाउने नीति कार्यक्रम अनुसार सम्बन्ध अघि बढ्ने ट्रम्पको भनाई छ । सन् १९६१ मा एक अर्को देशमा दूतावास बन्द गरेका अमेरिका र क्युवाले ५४ वर्षपछि लामो शीतयुद्ध अन्त्य गर्दै द्धिपक्षिय सम्झौतापछि सन् २०१५ मा आएर दूतावास खोल्न सहमत भएका थिए ।
Source : Ekantipur