यो पनि मधेस


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- मधेस भनिसक्दा हामी अधिकांशको मनमा एक दशकयता आन्दोलनरत समथर मैदानको मानचित्र आउँछ । कतिको मनमा संविधानमा सीमांकित प्रदेश–२ को नक्सा आउँदो हो । अनि कतिका लागि सम्झिँदै दिक्क लाग्ने डेढ वर्षअघिको कठोर नाकाबन्दी । मधेसको वास्तविक छायाछवि यतिमा पूर्ण हुँदैन । समाचारमा दैनिक देखिने शीर्षकहरूभन्दा पर कतै अर्को मधेस छ ।


यो मधेसमा छन्— बयलगाडा चढेर पर कतै गइरहेका देहातीहरू । हुलाकी सडकको धूलो र हिलोमा नांगा पाइतालाले ठमठम हिँडेर स्कुल गइरहेका नानीबाबुहरू । ग्रीष्मको हपहपी गर्मी झेल्दै पोखरीमा जाल हानिरहेका माछापालकहरू । चियापसलमा देश–देशावर भट्टयाइरहेका पुरुषहरू । श्रीमान्ले अरबबाट पठाइदिएको पैसा बुझ्न मनी ट्रान्सफरको काउन्टरअघि झुरुप्प महिलाहरू । रूखको सियाँलमा अलिअलि गर्दै उमेरको उकालो काटिरहेका बूढाबूढीहरू । दिनभरिको काम सकेर साँझ पसिना पुछ्दै साइकलमा घर फर्किरहेका श्रमिकहरू । यी सबै–सबै मधेसमा बस्छन् । तर हामी तिनलाई देख्दैनौं, देखे पनि हेर्दैनौं । हामीलाई अखबार–टीभीका ठूल्ठूला खबरहरूबाट किचिएर बाँच्ने बानी परिसकेको छ ।


हिमाल सुन्दर छ, त्यो मानिसले आफ्नो पौरखले ठड्याइदिएको होइन । पहाड हरियो छ, त्यो पनि मानिसले उभ्याएको होइन । मधेसलाई प्रकृतिले सायद धेरै दिलाउन भ्याएन । मानिस आफैंले बनाउनुपर्ने भयो । हामी देख्छौं– मनोहारी वास्तुकला, ठूला पोखरीहरू, अग्ला दरबार, अनि थुप्रै पाठशाला र स्वास्थ्य चौकीहरू । जीर्ण सडकहरू पार गर्दैै सुगम भविष्य अजमाउन हिँडेका युवायुवतीहरू ।


हिजोआज मधेसमा रैथाने मात्रै छैनन् । यहाँ छन्– पहाडमा खनीखोस्री गर्दा पनि जीवन सहज नभएर दु:खजिलो गर्न झरेकाहरू, मुग्लानबाट फर्केर आफ्नै देशमा रोजीरोटी गर्नेहरू, अनि रैथाने मधेसी, थारू, मुस्लिम, आदिवासी, अल्पसंख्यक दलितहरू । राजनीति कहिलेकाहीँ उनीहरूको जीवनमा भोट बैंक बनेर आइपुग्छ । कहिले चेतनाको शंख फुकेर फर्कन्छ, कहिले विद्वेषको बीउ रोपेर ।


नीति निर्माण तहमा बस्नेहरूले भनिदेउन्– आफूले भनेजसरी सुबिस्ताको जीवन बाँच्न नपाए पनि भोलिका सन्तानहरूका लागि हरेक दिन घोट्टिने यी नागरिकहरू को हुन् † मानव विकास सूचकांकमा निरन्तर पछाडि छाडिएका, तर राज्यको तीव्र आर्थिक विकासको आँकडा अघिल्तिर कतै नेपथ्यमा बिर्सिइएका यी अनुहारहरू को हुन् † राज्यले भनिदेओस्, हरेकपल्ट दक्षिणतिर छिमेकी मुलुकबाट सीमा मिचिँदा ज्यान फालेर तैनाथ हुने, तर अरू बेला आफ्नै देशबाट पटक–पटक नेपाली हुनुको परिचयपत्र मागिएका यी दोयम नेपालीहरू को हुन् ?


राणाकालीन हुलाकी मार्ग पछ्याउँदै हामीले अघिल्लो साता मधेसका देहातहरू घुम्यौं । देशको वास्तविक चित्र हेर्ने हो भने पहाडले मधेस देख्नुपर्छ, मधेसले पहाड । तस्बिरमा हेरौं, यात्राका तिनै झलकहरू :


Source : Ekantipur

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com