जनतालाई मेसिन गन सुम्पँदै युक्रेन सरकारले भन्यो,’रुसी सेनाको गतिविधि जानकारी गराउनु, पेट्रोल बम हानेर शत्रुलाई नष्ट गर्नु’
प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार
रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले नै एक विज्ञप्ति जारी गर्दै रुसी सेनाका ट्याङ्क, बख्तरबंद गाडीहरू कीभको सडकमा देखा परेको बताएको छ । बिग्रँदै गएको अवस्थालाई मध्यनजर गर्दैले आफ्ना नागरिकलाई सेनामा भर्ना हुन आग्रह गरेको छ । युक्रेन सरकारले स्थानीय जनतालाई रुसी सैनिकको विरोध गर्न अपिल गरिरहेको छ ।
युक्रेनको रक्षा र आन्तरिक मन्त्रालयले किभमा बस्ने मानिसहरूलाई ‘रुसी सेनाको गतिविधिको बारेमा जानकारी गराउन, पेट्रोल बम तयार गर्न र शत्रुलाई नष्ट गर्न’आह्वान गरेका छन।
युक्रेनको आन्तरिक मन्त्रालयले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पेट्रोल बम बनाउने जानकारी दिएको छ ।
किभमा स्वयम्सेवकहरूलाई १८ हजार मेसिन गन दिइएको मन्त्रालयका सल्लाहकारले बताए । ‘हातमा हतियार लिएर राजधानी जोगाउन चाहने सबैलाई दिइएको छ,’ उनले भने ।
युक्रेन सरकारले राजधानीलाई रुसी सेनाबाट जोगाउन युक्रेनी सैन्य गाडीहरू पनि कीभ प्रवेश गरिरहेको जनाएको छ । राजधानीका जनतालाई सुरक्षाको कारणले किभमा आउने सैन्य उपकरणलाई फिल्म नगर्न पनि अपिल गरिएको छ ।