नो-फ्लाइ जोन के हो ? जेलेन्स्कीले किन पटक पटक विश्वका नेतासँग यसको माग राखेका छन् ?


प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना केही अघिल्ला भिडियो पोष्टहरूमा युक्रेनमा नो-फ्लाई लागु गर्न अपील गरेका छन्। किभको दक्षिणपश्चिमी सहर भिनित्साको सिभिल एयरपोर्टको रुसले पूर्ण रुपमा ध्वस्त गरिदिएपछि उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै युक्रेनमा नो फ्लाई जोन लागू गर्न विश्वका नेताहरूसँग आफ्नो मागलाई दोहोर्‍याए। उक्त पोस्टमा उनले मानिसलाई बचाउनु विश्वका नेताहरुको पनि मानवीय दायित्व भएको बताएका थिए ।

उनले भनेका थिए, ‘यदि तपाईहरुले यसो गर्नु भएन र सुरक्षाका लागि हामीलाई लडाकु विमान पनि दिनुभएन भने एउटा मात्र निष्कर्ष निकाल्न सकिन्छ त्यो हो , तपाईहरु चाहानुहुन्छ हामीहरु क्रमशः सबै मारिदै जाओस् ।’ तर नेटो देशहरूले युक्रेनमाथि नो-फ्लाई जोन बनाउने विचारलाई हालसम्म अस्वीकार गर्दै आएका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, ‘हामी आक्रामणकारीलाई परास्त गर्न सक्छौँ, यो कुरा विश्वसामु प्रमाणित पनि गर्दैछौँ तर हाम्रा सहयोगीहरूले पनि आफ्नो भूमिका खेल्नुपर्छ ।’

नेटोले शुक्रबार नै उनको अनुरोधलाई औपचारिक रूपमा अस्वीरकार गरिसकेको छ ।

एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले रुसमाथि लगाइएका प्रतिबन्धहरू सही दिशामा अघि बढिरहेको बताए । उनले रुसका धेरै बैंकहरूलाई स्विफ्ट प्रणालीबाट हटाउने निर्णयसँगै युक्रेनलाई थप स्टिङगर मिसाइल, ट्याङ्क , हतियार आपूर्ति गर्ने निर्णय सबै सही दिशामा रहेको बताए । यसको अलवा हामी पश्चिमी देशहरूलाई युक्रेनको महत्त्वपूर्ण भागहरूमा नो-फ्लाई जोन लगाउन आग्रह गर्दछौं।

नो-फ्लाई जोन भनेको के हो ?

सरल भाषामा भन्नुपर्दा, नो-फ्लाइ जोन भनेको यस्तो निश्चित स्थानलाई परिभाषित गर्छ जहाँ कुनै विमान उडान भर्न पाउँदैनन् ।
जसलाई संवेदनशील क्षेत्रहरूको सुरक्षाका लागि मात्र प्रयोग गर्न सकिन्छ। जस्तै शाही-निवास, खेलकुद-घटनाहरू वा केही विशेष र ठूला कार्यक्रमहरू, तर यो प्रायः अस्थायी रूपमा लागू गर्न सकिन्छ।

तर सैन्य सन्दर्भमा, नो-फ्लाइ जोन भनेको कुनै पनि विमान उक्त क्षेत्रमा प्रवेश गर्न पाउँदैन, ता कि आक्रमण वा निगरानी रोक्न  र निषेधित क्षेत्रमा प्रवेस गर्ने  विमानलाई खसाल्न सकियोस्।

युक्रेनका राष्ट्रपतिले माग गरे बमोजिम, नो-फ्लाई जोन लागू गर्नुको अर्थ सैन्य बलहरू, विशेष गरी नेटोका सेनाहरूले त्यो हवाई क्षेत्रमा कुनै पनि रुसी विमान देखिए भने सीधै निशाना बनाउन सक्ने छन् र आवश्यक भएमा, उनीहरुले यसलाई नष्ट गर्ने छन् ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी स्वामित्वको एयरलाइन्स एरोफ्लोटका उडान परिचारकहरूसँगको भेटमा युक्रेनमा नो-फ्लाई जोन लगाउने कुनै पनि देशलाई युक्रेनमा युद्धमा संलग्न भएको मानिने बताए। ‘हामी यस दिशामा उठाइएका कुनै पनि कदमलाई त्यस देशमा सशस्त्र विद्रोहमा सामेल हुने रूपमा विचार गर्नेछौं,’रुसी राष्ट्रपतिले भने।

पश्चिमा देशहरू किन गरिरहेका छन् अस्वीकार ?

यदि नेटोले रुसी विमान र हतियारलाई निशाना बनायो भने यसले युद्ध झन् खराब हुने  सम्भावना बढाउँछ। यसले द्वन्द्व चर्किने खतरा बढाउँछ । नेटोका महासचिव स्टोलटेनबर्गले पनि शुक्रबार भने, ‘यदि हामीले यसो गर्यौं भने यसले पूर्ण द्वन्द्व निम्त्याउनेछ। जसमा अन्य धेरै देशहरू पनि संलग्न हुनेछन् र धेरै मानवीय क्षति र भयावह अवस्था हुनेछन्।’

यो एउटा ठूलो कारण हो, जसका कारण एकातिर पश्चिमा राष्ट्र र संस्थाहरूले रुसमाथि एकपछि अर्को नाकाबन्दी लगाइरहेका छन् तर     नो-फ्लाई जोन लागू गर्नबाट अस्वीकार गरिरहेका छन् । उनीहरुले युक्रेन-रूस युद्धमा नेटोलाई प्रत्यक्ष रूपमा संलग्न गरेका छैनन् र गर्दैनौ भन्दै आएका छन् ।

अमेरिकी वायुसेनाका पूर्व जनरल फिलिप ब्रेडलोभले फरेन पोलिसी म्यागजिनलाई दिएको अन्तर्वार्तामा भने,’तपाईले, यो नो-फ्लाइ जोन हो   लागू गर्नुपर्छ भन्नुभएन ?’  युक्रेनको नो-फ्लाई जोनको मागलाई समर्थन गर्नु नेटोका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि निकै गम्भीर निर्णय हुने उनको भनाई छ। उनी भन्छन्, ‘त्यसो गर्नु भनेको सर्वत्र युद्धलाई निम्तो दिनुजस्तै हो।’ उनले २०१३ देखि २०१६सम्म नेटोको सर्वोच्च सहयोगी कमाण्डरको रूपमा सेवा गरेका थिए ।

यस्तै बेलायतका रक्षा सचिव बेन वाल्लासले स्पष्ट रुपमा भनेका छन्, ‘ बेलायतले युक्रेनमा नो-फ्लाइ जोन लगाउने आह्वानलाई समर्थन गर्दैन किनकि रुसी विमानलाई रोक्नु भनेको युरोपभर युद्धको निम्तो दिनु हो।’

अमेरिकाले पनि युक्रेनका राष्ट्रपतिको मागलाई अस्वीकार गरेको छ ।

यसबाहेक आणविक हतियारको रुपमा रुससँग द्वन्द्व बढ्ने खतरा पनि छ । यो खतरा पनि गम्भीर छ किनभने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको आणविक सेनालाई ‘विशेष सतर्कता’ मा राखेका छन्। उनको यो कदमले विश्वभर चिन्ताको विषय बनेको छ ।

तर विश्लेषकहरू भन्छन् ‘ पुटिनको यो कदम सायद कुनै पनि देशलाई युक्रेनसँगको युद्धमा सामेल हुनबाट रोक्नको लागि हो। यसलाई आणविक हतियार प्रयोग गर्ने इच्छाको संकेतको रूपमा लिनु हुँदैन।’

तर विश्वयुद्धको प्रकोपको सानो संकेतले पनि आणविक युद्धको जोखिम बढाउन सक्छ, र युक्रेनमा नो-फ्लाई जोन थोप्नु यसको लागि बीउ रोप्न जस्तै हुनसक्छ।

 



    
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com